बारेकोट गाउपालिका–५, नायकबाडा डिपोमा चालम अभाव भएको छ । नेपाल खाद्यय संस्थानले वितरण गर्दै आएको चामल सकिएपछि दशैँको चामल अभाव भएको हो ।
चाडपर्व नजिकिएको बेला खाद्य संस्थानको डिपोमा चामल अभाव भएपछि नागरिकहरू बजारको महङ्गो चामल खाना बाध्य भएका छन् । सरकारले नागरिकलाई सहुलियतमा दिँदै आएको डिपोमा चामल सकिएपछि दशैँ र तिहरमा के खाने भन्ने चिन्ता बढेको छ । सरकारले नागरिको खाद्य अधिकारलाई सुनिश्चित गर्न सञ्चालन गरी बिक्री वितरण गर्दै आएका डिपोमा चामल पुर्याउन नसक्दा अभाव भएको हो ।
बारेकोट गाउँपालिका–८ की रश्मी सिंहले नायकवाडा डिपोमा चामल लिन जाँदा अभाव भएकोले रित्तै फर्केर आउनुपरेको बताउनु भयो । भौगोलिक विकटता धानको उत्पादन तथा उत्पादकत्वमा कमी हुने भएकाले चामल अभाव भएपछि सरकारले नागरिकलाई खाद्य सुनिश्चितता गर्न सञ्चालनमा ल्याएको डिपोमा चामल नहुँदा गरिब, दलित, ज्यालामजदुरी र किनमेल गरी खाने वर्ग समस्यमा परेका छन् ।
बारेकोट गाउँपालिका–८ की कालिका चदाराले गत वर्ष कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित नागरिक खेतमा त्रिपाल टाँगेर बसेपछि हिउँदे बाली उत्पादन नहुँदा किनेर खानु परेको छ । वर्षे बाली मकै, सिमि, कोदो र फापर उत्पादन भए पनि धान उत्पादन नहुने हुँदा खाद्य डिपोबाट चामल लिएर खाने गरेको बताउनु भयो । डिपोमा चामल अभाव भएपछि आफूहरूले बजारको महङ्गो चामल किन्ने गरेका उहाँको भनाइ छ । दशैँ नजिकिएसँगै नागरिकलाई बिहान बेलुका कसरी चुलो बाल्ने भन्ने चिन्ताले सताएको छ ।
चाडपर्वको बेला जहिले पनि डिपोमा चामल अभाव हुने गरेको छ । धान उत्पादन नहुने गाउँबस्तीमा सरकारले बाह्रै महिना डिपोमा चामल मौज्दात राख्ने व्यवस्था नगरेका कारण अभाव भएको छ । चाडपर्वका लागि बस्तीमा गएका नागरिक डिपोमा चामल नहुँदा व्यपारीले लिएको चामल खान बाध्य भएका छन् ।
नेपाल खाद्य संस्थानका प्रमुख रामप्रसाद पौडेलले नायकबाडा डिपोमा मौज्दात करिव २ क्वीन्टल भएको र हाल सकिएको बताउनु भयो । उहाँले ठेकेदारलाई चालम लिन आग्रह गरे पनि सम्झौता गरेपछि मात्र ढुवानी गर्ने उल्लेख गर्नुभयो । ठेकेदार र कार्यालयको बिचमा सम्झौता भए तत्काल नायकबाडा डिपोमा चामल पुर्याउन लगाउने कार्यालय प्रमुख पौडेलले बताउनु भयो ।