भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो ।
रिम्नाका करिव ३ सय ५० भन्दा बढी घरघुरी रहेको सो गाउँमा खानेपानी नहुँदा भेरी नदीको धमिलो पानी खान बाध्य भएका छन् । करिव ५ किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोलाको मुहानको पानी भूकम्पले भासिएपछि खानेपानीको समस्या भएको भेरी नगरपालिका-१ का वडा अध्यक्ष दिपक रानाले बताउनु भयो । वडा अध्यक्ष रानाले खानेपानीकाे लागि सर्भे भएकाे र तिहारपछि काम सुरु हुने बताउनु भयाे । नागरिकको सास्तीलाई मध्यनजर गरी गाउँपालिकामा पटकपटक पहल गरी आफूहरूले सर्भे गरेको उहाँको भनाइ छ ।
भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले खानेपानीको लागि पहल नगर्दा भेरी नदी र झोङ्गे पुलपारी रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको चाइनावगरबाट पानी ल्याएर दैनिक गुजारा गरेका छन् । भेरी नगरपालिका–१ की दिलमाया रानाले नागरिकलाई नभइ नहुने खानेपानीको सरकारले व्यवस्था नगर्नु दुखद भएको बताउनु भयो ।
गाउँमा पानी नभएपछि विद्यालयका बालबालिका बिहान बेलुका खानेपानीको जोहो गर्न बाध्य छन् । नागरिकका दैनिक जीवनसग जोडिएका विषयलाई सरकारले तत्काल सम्बोधन नगर्दा खानेपानीमा दुख पाउने गरेको उहाँको भनाइ छ । भेरी नगरपालिका–१ का स्थानीय गगन रानाले भूकम्पले घर भत्किएपछि सरकार र दातृनियकाको सहयोगमा निर्माण गरेका आवासमा बसे पनि पानी नहुँदा बिहान बेलुका खानेपानी जुटाउनै मुस्किल हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले खानेपानीका लागि पहल नगर्दा नागरिकले सास्ती बेहोर्नु परेको छ । खानेपानी, आवास, स्वास्थ शिक्षा रोजगारी लगाएतका बस्तु तत्काल सम्बोधन गर्ने सरकारले लामो समय बित्दा पनि खानेपानी आउन सकेको छैन ।’
भेरी त्रिवेणी माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा भगवती रानाले घर वरपर पानीको मुहान नभएपछि बिहान बेलुका रुकुम पश्चिमको चाइनावगरबाट पानी ल्याएर विद्यालय जाने गरेको बताउनु भयो । घरआँगन मै आउने पानी सुकेपछि टाढाबाट पानी ल्याउनु पर्दा घरमा पढ्नको लागि समय निकाल्न निठिन भएको उहाँको भनाइ छ । नागरिकले प्रयोग गर्दै आएको पानी बन्द भएपछि तत्काल मुहानको जोहो गरी खानेपानी पुर्याउने अधिकार सरकार हो । सरकारको ढिला सुस्तीका कारण नागरिकहरूले सास्ती खेप्नुपरेको छ ।
खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका प्रमुख मङ्गल शाहीले रिम्नागाउँमा भएको खानेपानीको समस्यालाई समाधान गर्न विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वयमा आफूहरूले तिहारपछि काम थाल्ने बताउनु भयो ।