INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको बताएका छन् ।

Photo13102024Dailekh1

दुल्लू नगरपालिका–६, छिउडी घर भएका ६६ वर्षका करे कामीको भाउजु र भतिजाले त्यहीँ पुगेर टीका लगाइदिनु भयो । नौमूले गाउँपालिका–१, तोलीका जयबहादुर सिंहकी पत्नी, दुई जना छोरी र एक जना छोरा खाली निदार आउनुभएको थियो । उहाँहरूको पनि दशैँ टीका र खानपिन कारागार परिसर मै भयो ।

कारागार प्रशासनले टीका र खाद्यबस्तु चेकजाँच गरी टीका लगाउने ठाउँसम्म लिन पाउने प्रबन्ध गरेको थियो । अरुबेला भेट्न आएका परिवारकै व्यक्तिले तयारी खाद्यबस्तु ल्याउन पाउँदैनन् । तर दशैँ मुख्य चाड भएकोले घरमा पकाई ल्याएको परिकारहरू ल्याउनेलाई चाख्न लगाएर मात्र लिन दिइएको जिल्ला कारागारका निमित्त जेलर विष्णु थापाले बताउनु भयो ।

टीका लगाउन पाउने, टीका र खाना पनि ल्याउन पाउने पहिले नै सूचित गरिए अनुसार पुरुष कैदीबन्दी तर्फ ६२ जना र महिला तर्फ आठ जना कैदीबन्दीलाई १ सय ८४ जना परिवारजनले भेटघाट र टीका लगाएको कारागार सुरक्षा इञ्चार्ज सहायक इन्स्पेक्टर देवबहादुर थलालले जानकारी दिनुभयो ।

पारिवारिक रूपमा दशैँ मान्न पाउने अवसर दिँदा पारिवारिक सम्बन्ध प्रगाड बनाउने र कैदीबन्दीहरूलाई सकारात्मक भावना विकास हुने भएकोले दशैँको टीकाकै दिन टीका लगाउने र खानपिन समेत गर्न पाउने प्रबन्ध गरिएको निमित्त जेलर थापाले बताउनु भयो ।

कारागार प्रशासनले टीका लगाउने प्रबन्ध गरिदिँदा कैदीबन्दीहरूमा सामाजिक भावना, भातृत्व र सदाचारको भावना विकास भएको कारागार आन्तरिक प्रशासन चौकीदार मानबहादुर नेपालीको भनाइ छ । दैलेख कारागारमा १ सय ५१ जना पुरुष, १८ जना महिला, एक जना बालिका र एक जना बालक आश्रित छन् ।

कारागार आन्तरिक प्रशासन चौकीदार मानबहादुर नेपालीका अनुसार कारागारमा स्वास्थ्य उपचार, पानी, शौचालयको समस्या मुख्य रहेको छ । औषधि उपचारको लागि पर्याप्त स्रोत नभएकाले समस्या हुने गरेको उहाँले बताउनु भयो ।

महिला कैदीबन्दीहरूलाई आयमूलक सीपको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले कारागारमा कतैबाट पत्रपत्रिका तथा समाचार हेर्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको बताउनु भयो । सरकारले कैदीबन्दीलाई उपलब्ध गराउने सेवासुविधा अपुग भएको उहाँको भनाइ छ ।

Photo13102024Dailekh

अन्य

भिडियो