जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।
छात्रवृत्ति करारमा कार्यरत एक जना एमडिजीपी र चार जना मेडिकल अधिकृत गरी पाँच जना चिकित्सकको सङ्घीय सरकारको सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट आउनुपर्ने पारिश्रमिकको रकम नआएपछि आफूहरूले जागिरबाट छोडेर घर जानु पर्ने भएको जिल्ला अस्पतालमा कार्यरत डाक्टर सुरेन्द्र अधिकारीले गुनासो गर्नुभयो ।
लामो समयदेखि अस्पतालमा काम गरेको भए पनि हालसम्म तलब नआएपछि रित्तो हातमा घर फर्कनु बाहेक अन्य विकल्प नरहेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो – ‘घरपरिवारका लागि दशैँ खर्च व्यहोर्नु पर्ने थियो तर पनि तलब नआएपछि दशैँ मनाउन समस्या हुनेभयो ।’
विगत चार वर्षदेखि आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमित रूपमा काममा लगाए पनि पछिल्लो पाँच महिनाको तलब नदिएको अर्का एमडिजीपी डाक्टर हिमविक्रम शाहीले गुनासो गर्नुभयो । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् । तलब आउने आस गर्दा गर्दै ६ महिना बितिसक्दा पनि अहिलेसम्म तलब नपाइएपछि ऋण निकालेर आफ्नो समस्या समाधान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘मन्त्रालयले काम गर्न खटाएपछि लगनशीलताका साथ काम गरिरहेका छौँ । तलब नपाउँदा अन्योल भएको छ ।’
स्वास्थ्य सेवा कार्यालयले मन्त्रालयसँग बेलाबेला ताकेता गरेर समन्वय गर्दा चिकित्सकहरूलाई तलबका लागि बजेट पठाउने अश्वासन दिए पनि अहिलेसम्म नपठाएर जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूले ६ महिनादेखि तलब नपाएका हुन् ।
२०८२ असार सम्म चिकित्सकहरूका लागि ७७ लाख ४२ हजार ७ सय ७३ रकम आवश्यक पर्ने भएको छ । अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले वैशाखदेखि पारिश्रमिकबिनै काम गरिरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । सङ्घबाट रकम नआएपछि प्रदेश सरकारसँग सो पारिश्रमिक मागका लागि पटक पटक अनुरोध गर्दा पनि सामाजिक विकास मन्त्रालयले मतलब नगर्दा र समयमा रकमको व्यवस्था नगरेकाले यो समस्या भएको स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो ।
सङ्घीय सरकारबाट आउनुपर्ने चिकित्सकको पारिश्रमिकको रकम नआएपछि चिकित्सकलाई हालसम्म पारिश्रमिक दिन प्रस्ताव गरेर बजेटका लागि अर्थ मन्त्रालय पठाएको र अबको केही समयभित्र हुम्ला जिल्लामा कार्यरत चिकित्सकहरूले सबै पारिश्रमिक पाउन सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिनुभयो ।