INSEC Online

📅 २०८३ जेष्ठ २२

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै चारदिनसम्म पनि मृतकको शव उठाइएन

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पोखरा-लेखनाथ मनपा-९ स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी १९ वर्षीया गीता अर्यालको शव आफन्तले चार दिनसम्म पनि उठाएका छैनन् । मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको बताउँदै सुत्केरी मृतकको शव नउठाएका हुन् ।

स्याङजा जिल्ला अर्जुनचौपारी घर भएकी अर्याललाई कात्तिक १० गते गण्डकी मेडिकल कलेज भर्ना गरी सोही दिन अर्यालको पेटबाट शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।

अस्पताल प्रशासनले भने सुत्केरीको अवस्था नाजुक रहेको भन्दै सोही समयदेखि सघन कक्षमा राखेर अर्यालको उपचार गरीरहेको मृतकका आफन्तले बताए ।

उपचारकै क्रममा बिरामीको कात्तिक १७ गते मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो । मृतकका आफन्तले उपचारका क्रममा डाक्टरले बिरामीको आफन्तलाई भेट्न नदिएको र मृत्यु भइसकेपछि पनि घटना लुकाएको भन्दै कात्तिक १८ गते अस्पताल प्रशासन विरूद्ध नाराबाजी गरी सडकमा टायर बाली आन्दोलन गरेका थिए ।

सो आन्दोलनमा सहभागी मृतकका आफन्त रामबहादुर थापा र डोलराज अर्याललाई प्रहरीले गिरफ्तार गरी सोहि दिन छाडेको जिल्ला प्रहरी कार्यलयका डिएससपी खड्कबहादुर खत्रीले बताए । मृतकका आफन्त अर्जुन खनालका अनुसार दोषी चिकित्सकलाई कारवाही, नाबालकको संरक्षण र क्षतिपुर्ति नदिएसम्म शव नउठाउने भन्दै पीडित पक्ष आन्दोलनरत छ ।

कात्तिक १८ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीले अस्पतालको कम्प्युटर, प्रिन्टर तोडफोड गरेको, ढोकाको सिसा फुटाएका कारण ३ लाख रुपियाँ बराबरको क्षति भएको गण्डकी मेडिकल कलेजका कार्यकारी प्रमुख सन्तोष खनालले बताए ।

सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यलयमा कात्तिक २० गते बसेको बैठकले क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर रवि रेग्मीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ ।

सो घटनाका बारेमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल तथा कास्की जिल्ला प्रतिनिधि कात्तिक २१ गते घटनाका बारेमा अस्पताल पुगेर घटना बुझी कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेटघाट गरी घटनालाई जतिसक्दो चाँडो टुङ्ग्याउन सुझाव दिएका थिए ।

अन्य

भिडियो