डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ । लामो समयदेखि अस्पताललाई ५० शैयामा स्तरोन्नति प्रक्रिया अघि बढाएको भएपनि यस कार्यले सार्थकता नपाउँदा उपचारका लागि आएका बिरामीले सास्ती झेल्नु परेको छ ।

बिरामीको चाप बढेपनि स्वास्थ्यकर्मीको सङ्ख्या अपुग हुँदा बिरामीले सास्ती व्यहोर्नु परेको हो । अस्पतालमा उपचारका लागि आउनुभएकी झ्यालबास निवासी मनकुमारी पुलामीले सेवा लिन निकै समस्या भएको गुनासो गर्नु भयो । अस्पतालमा टिकटको लाइनमा घण्टौँ बस्दा थप बिरामी हुने अवस्था भएको उहाँले गुनासो गर्नु भयो । टिकटसहित चिकित्सकलाई देखाउन उत्तिकै समय लाग्ने गरेको र ल्याबको रिपोर्ट आउन झन् धेरै समय लाग्दा उपचारमा ढिलाइ हुने गरेको उहाँको गुनासो छ ।

२०७५ सालमा सामुदायिक रुपमा सञ्चालित अस्पताललाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ शैयाको जिल्ला अस्पताल कायम गरेको थियो । त्यस यता अस्पतालमा बिरामीको चाप निकै बढेको छ । तर, अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्यले बताउनु भयो ।

‘अस्पतालको शैया थप भए जनशक्ति समेत सोही अनुसार कायम हुने थियो । अहिले स्वीकृत दरबन्दी १५ शैयाको छ । अस्पतालले बिरामीको चाप बढेको भएर आफैँ ७८ शैया चलाएको छ । तर, जनशक्ति कम हुँदा समस्या थपिएको छ ।’–डा. आचार्यले भन्नु भयो ।

जिल्ला अस्पतालमा दिनानुदिन बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालमा सरदर ४ सय बिरामीले दैनिक सेवा लिने गरेका छन् । मध्यबिन्दु जिल्ला अस्पतालाई ५० शैयामा स्तरोन्नति गर्ने पहल भइरहेको भएपनि लामो समयसम्म गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा अस्पतालमा समस्या थपिँदै आएको हो ।

हाल अस्पतालमा स्वीकृत दरबन्दी जम्मा ३१ जनाको मात्र रहेको छ । अरु करार र विभिन्न कार्यक्रम तर्फका कर्मचारीले अस्पताल चलाउनुपर्ने अवस्था रहँदा भने अनुसारको सेवा प्रदान गर्न समस्या उत्पन्न भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्यले बताउनु भयो ।

