मालारानी गाउँपालिका-८, हंसपुर बजनीका ५२ वर्षीय शिवबहादुर रोकाहाको हत्या गरेको कसुरमा जिल्ला अदालतले पत्नी ५१ वर्षीया सीता रोकाहालाई जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्री शिवलाल पाण्डेयको ०८१ असोज १५ गतेको इजलासले हत्याको कसुर ठहर गर्दै सीता रोकाहालाई जन्म कैद र १ लाख रुपियाँ जरिबाना सजाय भएको फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायव शुब्बा रामप्रसाद आचार्यले जानकारी दिनुभयो । सो घटनामा संलग्न आरोपित निमबहादुर रोकाहालाई दुई महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको उहाँले बताउनु भयो ।
मृतक रोकाहालाई आरोपितले ०८० भदौ २१ गते घरमा बसेको समयमा ढुङ्गा प्रहार गरेर हत्या गरेको भन्दै पीडित पक्षले असौज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम भदौ २१ गते जिल्ला अस्पतालमा गरी सोही दिन पीडित परिवारले शव बुझी रिडी नदीमा दाहसंस्कार गरेका थिए ।