त्रिपुरेश्वरको राहदानी विभागको पछाडि विश्व निकेतन माध्यामिक विद्यालय छ । सो विद्यालयमा बागमतीको बाढीले धेरै नोक्सान पुर्याएको छ । अविरल वर्षाका कारण असोज १२ गते राति आएको बाढीले विद्यालयको भुँइ तलामा लेदोसहितको बाढीले क्षति पुर्याएको विद्यालयले जनाएको छ ।
विद्यालयमा बाढीले क्षति पुर्याएपछि नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थीलाई छठसम्म बिदा दिने विद्यालय प्रशासनले जनाएको छ । भारी वर्षासँगै बागमती नदीमा आएको बाढी विद्यालयमा पसेर क्षति पुर्याएको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनु भयो । ‘अविरल वर्षासँगैको लेदोसहितको बाढीले विद्यायलयका ५० थान कम्प्युटर, बेन्च, डेक्सलगायतका सबै सामानमा क्षति पुर्याएको छ ।’–उहाँले भन्नु भयो ।
विद्यालयका शिक्षक डिल्लीराम पौडेलका अनुसार बाढीले शैक्षिक सामग्री नै नष्ट भएको छ । ‘लेदोसहितको बाढीले कक्षा कोठमा बसी सक्नु छैन । त्यसैले छठसम्म बिदा दिएका छौँ ।’–उहाँले भन्नु भयो ।
नर्सरीमा ५३ जना, एलकेजीमा ४५ जना, युकेजीमा ३९ जना, कक्षा एकको सेक्सन ए मा ३५ जना, सेक्सन बी मा ३६ जना, कक्षा दुईको सेक्सन ए मा ३१ जना, सेक्सन बी मा ३२ जना र कक्षा तीनको सेक्सन ए मा ३६ जना तथा सेक्सन बी मा ३५ जना गरी ३ सय ४२ जना विद्यार्थीको पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनु भयो ।
विद्यालयमा पसेको बाढी सफा गर्न महानगरपालिकाले सहयोग गरेको विद्यालयकी शिक्षिका गीता बस्नेतले बताउनु भयो ।











