बगनासकाली गाउँपालिकाले दशैँ नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाले वडाबाटै वितरण गरिरहेको छ । गाउँपालिकाले नेपाल बैङ्क र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट र वडा कार्यालयसम्म पुग्न नसक्ने व्यक्तिहरूलाई घरमै पुगेर भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनु भयो ।

बगनासकाली गाउँपालिका-७, खानीगाउँकी ४८ वर्षीया कलाधर सुनारले आफूले पाउने अपाङ्गता भत्ता जनप्रतिनिधि र कर्मचारीहरू घरमै आएर प्रदान गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘भत्ता लिन वडासम्म जान सक्ने अवस्था छैन । अझ बैङ्कमा जानुपर्दा गाडी रिजर्व गरेर जानुपर्ने अवस्था थियो । घरमै आएर भत्ता दिनुभयो । मेरो लागि यो भन्दा खुशीको कुरा केही छैन’, उहाँले भन्नुभयो ।
वडाबाटै भत्ता वितरण गरिएपछि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने समस्याबाट मुक्त भएका छन् । यसबाट उनीहरूको समय र पैसा दुबै बचत भएको छ । बगनासकाली गाउँपालिका-८, बराङ्दीकी ८० वर्षीया सरस्वती पाण्डेले भन्नुभयो, ‘भत्ता बुझ्नका लागि एक/डेढ घण्टा हिँडेर बैङ्क जानुपर्थ्यो । बुढेसकालको शरीर आउन जानै समस्या रहेकोमा वडाबाटै भत्ता पाएपछि धेरै सजिलो भएको छ ।’

बैङ्क मार्फत भत्ता वितरणले जनताको खर्चमा समेत कमि आएको छ । जनताले केही हदसम्म भए पनि सुखद अनुभूति गरेको आफूले पाएको र निरन्तर जनताकै सेवा र काममा लागिपर्ने अध्यक्ष चिदीले बताउनु भयो । ‘बैङ्कसम्म जान आउन समस्या, बैङ्कमा लाइनमा बस्नुपर्ने, शौचालय खानेपानी लगायतको समस्याका कारण लाभग्राहीहरूलाई कठिन थियो, अहिले सहज भएको छ’, अध्यक्ष चिदीले भन्नुभयो । बगनासकाली गाउँपालिका—७, दैलातुङ्गका ८५ वर्षीय गजबिर बोटेले गत सालदेखि भत्ता वडाबाटै बुझ्न पाउँदा सजिलो भएको बताउनु भयो ।
गाउँपालिका, बैङ्क र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, अपाङ्गता भएका व्यक्ति लगायतको नयाँ खाता खोल्ने, अद्यावधिक गर्ने लगायतका काम पनि स्थलगत रुपमै हुने गरेको गाउँपलिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनु भयो ।
बगनासकाली गाउँपालिकाभरमा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल ज्येष्ठ, विधवा आर्थिक सहायता, ‘क’ वर्ग अपाङ्गता, ‘ख’ वर्ग अपाङ्गता र दलित बालपोषण गरी ३ हजार १ सय ४४ जना सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीको खातामा ३ करोड १४ लाख ५३ हजार ४ सय ११ रुपियाँ सामाजिक सुरक्षा भत्ता रकम जम्मा गरी बैङ्कमार्फत वडामै पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनु भयो ।




