INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी सरकारका स्वास्थ्यमन्त्रीलाई अपाङ्गताका सवालमा १५ बुँदे ध्यानाकर्षण पत्र (मागका सूचीसहित)

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलाई इन्सेक लागायतका संस्थाहरूले असोज ११ गते मन्त्रालयमा पुगेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि माग राख्दै इन्सेक, राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेश र  स्वाबलम्बन जीवन पद्धति समाजद्वारा स्वास्थ्यमन्त्री  पाठकलाई ध्यानाकर्षण पत्र बुझाएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिनु भयो ।

गण्डकी प्रदेशमा अस्पताल, स्वास्थ्यचौकी र कार्यालय अपाङ्गतामैत्री बनाउनु पर्ने  उहाँहरूको माग रहेको छ ।  कार्यालयमा ह्वीलचेयर जाने मात्र नभई सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागि टेक टाइल, बहिराहरूको लागि साङ्केतिक भाषासहितको सूचना बोर्डलगायतका व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सो अवसरमा गण्डकी प्रदेशका १२ ओटा अस्पतालमा नेपाली साङ्केतिक भाषा दोभासेसहितको अपाङ्गता सहायता कक्ष स्थापना गर्नुपर्ने मागसमेत गरिएको छ ।

`मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि  छुट्टै बोर्ड स्थापना गर्ने, फिजियो थेरापीका साथै अन्य थेरापी जस्तैः स्पिच, अकुपोशनल थेरापी युनिटहरू स्थापना गर्ने, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने औषधि स्थानीय स्वास्थ्य संस्थाबाट नै निःशुल्क उपलब्ध गराउन माग गर्दछौँ ।’- ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य तथा पुनर्स्थापनामा गर्नु पर्ने कामहरू

  • गण्डकी प्रदेशभर गरेका अस्पताल, स्वास्थ्यचौकी, स्वास्थ्यसँग सम्बन्धित निकायहरू अपाङ्गतामैत्री/पहुँचयुक्त बनाउने । पहुँचयुक्त भन्नाले ह्वीलचेयर जाने मात्र नभई सबै अपाङ्गताको लागी हुने गरी दृष्टिविहीनहरूको लागी टेक टाइल, बहिरा अपाङ्गता भएकाहरूका लागी साङ्केतिक भाषा सहितको सूचना बोर्ड आदि।
  • अस्पतालहरूमा नेपाली साङ्केतिक भाषा दोभासे सहितको अपाङ्गता सहायता कक्षा स्थापना गर्ने ।
  • मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि छुटै वार्ड स्थापना गर्ने ।
  • फिजियोथेरापीको साथ साथै अन्य थेरापी जस्तै स्पिच, अकुपोशनल थेरापी युनिटहरू स्थापना गर्ने ।
  • मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने औषधिहरू निःशुल्क स्थानीय स्वास्थ्य चौकीबाट नै उपलब्ध गराउने ।
  • हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने फ्याक्टर निःशुल्क उपलब्ध गराउने ।
  • हिंसामा परेका अपाङ्गता भएका व्यक्तिहरूलाई OCMC सँगको सहकार्यमा अस्पताल भित्र नै पहुँचयुक्त सेफ हाउसको व्यवस्था गर्ने ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहयोग सामग्री नाप जाँच सहित अस्पतालबाट नै उपलब्ध गराउने ।
  • विभिन्न निकायमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण गर्ने ।
  • स्वास्थ्य स्वयम्सेविकाहरूलाई अपाङ्गता, अपाङ्गताको वर्गीकरण, अपाङ्गताको अवधारणा, अपाङ्गताको पहिचान सम्बन्धी अभिमुखीकरण गर्ने ।
  • सहायक सामग्री र पुनर्स्थापना सेवा लाई स्वास्थ्य बिमामा समावेश गर्ने ।
  • सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्ने ।
  • प्रदेशस्तरीय स्वास्थ्यसम्बन्धी पुनर्स्थापना रणनीति बनाई लागु गर्ने ।
  • सहायक सामाग्री लाई बस्तुको रूपमा नभई सेवाको रूपमा उल्लेख गर्ने ।
  • सहायक सामाग्री तथा स्वास्थ्यसम्बन्धी सेवा आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरूको प्रोफाइल तयार पार्ने ।

अन्य

भिडियो