हरिपुर्वा नगरपालिका-५ की २३ वर्षीया चित्रलेखा देवी यादवमाथि पति २७ वर्षीय धिरेन्द्र कुमार यादवले ०८१ असोज १० गते बिहान गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बुबा ५४ वर्षीय रामदिनेश राय यादव घाइते भएका छन् ।
घाइते यादवको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि असोज १० गते प्रादेशिक अस्पताल मलंगवा लगिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपित यादव वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा थिए । पति पत्नीबीच फोनमै घरायसी विवाद भइरहन्थ्यो । ०८१ भदौ ७ गते आरोपित यादव घर फर्किएपछि पुनः पति, पत्नी र बुबाबीच घरायसी विवाद भएपछि घर आएको ६ दिनमा उनी घर छाडेर बाहिर बस्दै आइरहेका थिए । असोज १० गते बिहान आरोपितसमेत दुई जना मोटरसाइकलमा आई पत्नीमाथि गोली प्रहार गरी हत्या गर्नुका साथै आफूलाई समेत गोली प्रहार गरी घाइते बनाएको पीडित रामदिनेश राय यादवले मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले बताउनु भयो ।
घाइतेको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको र आरोपित पति र उनीसँगै आएका एक जना पहिचान नखुलेको पुरुष फरार भएकोले खोजतलास भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो । घटनास्थलबाट कटुवा पेस्तोल र गोलीको खोका दुई ओटा फेला परेको उहाँले बताउनु भयो ।