औरही गाउँपालिका-३ का ६५ वर्षीय भालेश्वर यादवलाई निजका छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादवले हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ असोज ७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण असोज ७ गते राती आरोपित र उनकी पत्नी ३५ वर्षीया रेणुकुमारी यादवले भालेश्वरलाई हात, मुक्का र लठ्ठीले कुटपिट गरी घाइते बनाएका थिए । पीडित भालेश्वरलाई उपचारको लागि सिरहास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि सोही दिन उनलाई बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । नोवेल अस्पतालका डाक्टरले राति ११ः४० बजेको समयमा पीडितलाई मृत घोषणा गरेको मृतकका अर्का छोरा रामप्रताप यादवले बताउनु भयो ।
बुवालाई दाजु र भाउजुले कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज ८ गते उजुरी दिएको रामप्रताप यादवले बताउनु भयो ।
शवको पोष्टमार्टम बिराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा असोज ८ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार घटनाको जानकारी असोज ७ गते नै भएकोले आरोपित शैलेन्द्रलाई गिरफ्तार गरी असोज ८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको र अर्का आरोपित रेणुकुमारी यादव फरार रहेकोले खोज तलास भइरहेको छ ।