INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सरकारको स्वीकृति नपाउँदा प्रसूति सेवा सञ्चालन भएन

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको भीमसेन मेट्रो अस्पतालमा विशेषज्ञ सेवाका लागि प्रदेश सरकारले स्वीकृति नदिँदा जनरल सर्जरी र प्रसूति सेवा सञ्चालन हुन सकेको छैन ।

कोरोना महामारीका बेला तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका–८, अश्वारामा ५० वेडको अस्पताल स्थापना गरेको थियो । वहिरङ सेवा दिइरहेको अस्पतालले पछिल्लो समय १५ शैय्याको विशेषज्ञ सेवा सञ्चालन गर्न विशेषज्ञ चिकित्सक, अपरेशन थिएटर लगायत आवश्यक सामग्री र जनशक्ति तयार गरेर ०८० फागुनमा स्वीकृतिका लागि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको थियो । निवेदन दिएको सात महिनासम्म स्वीकृतिका लागि प्रक्रिया पनि सुरु नभएपछि अस्पतालले ०८१ साउनमा पुनः स्वास्थ्य मन्त्रालयमा फाइल बुझाएको थियो । तर पनि स्वीकृति पाउन नसकिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनु भयो ।

अस्पतालले हाइड्रोसिल लगायतका जनरल शल्यक्रिया गरेर बच्चा निकाल्ने प्रसूति सेवाका लागि विशेषज्ञ जनशक्ति र उपकरण पर्याप्त तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहुले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालनका लागि नगरसभाबाट ऐन पारित गरी दरबन्दीसमेत व्यवस्थापन गरिएको तर स्वीकृति नपाउँदा समस्या भएको बताउनु भयो । उहाँले ढिलै भए पनि ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा दिन स्वीकृति पाउने आशा रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले जनशक्ति अभावले अनुगमन समिति निर्माण हुन नसकेकोले ढिलाई भएको बताउनु भयो । छिटै अनुगमन समिति निर्माण गर्ने र अस्पतालको अनुगमन गरेर मापदण्ड पूरा भएको भए स्वीकृति प्रदान गरिने बताउनु भयो । मेट्रो अस्पतालको दुई तले पक्की भवन छ भने इमर्जेन्सी सेवा, फार्मेसी, ल्याब, एक्सरे, भिडियो एक्सरे, ओपिडी, सामान्य प्रसूति कक्ष सुविधा छ । त्यस्तै विशेषज्ञ सेवाका लागि अपरेशन थिएटर, महिला, पुरुषका लागि छुट्टाछुट्टै वार्ड, बालबालिकाका वार्ड तयार गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा साहुले बताउनु भयो ।

Photo16092024Dang

अन्य

भिडियो