काइके गाउँपालिका–३ स्थित अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । उक्त विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा चार महिनादेखि पठनपाठनमा प्रभावित भएको हो ।
विद्यालयमा अङ्ग्रेजी विषय पढाउने विषय शिक्षक नहुँदा चार महिनादेखि पठनपाठनमा प्रभावित भएको र विद्यालयले सञ्चालन गर्ने दोश्रो त्रैमासिक परीक्षा नजिकिँदै गर्दा थप समस्या भएको काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् विद्यालयका प्रधानाध्यपक गोविन्द घर्तीले बताउनु भयो । अङ्ग्रेजी विषयका विषय शिक्षक चार महिना अघि निलम्बन भएपछि विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षक अभाव भएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको र अङ्ग्रेजी विषयमा आफूहरू कमजोर भएकोले थप समस्या भएको विद्यालयको कक्षा १० मा अध्ययनरत १५ वर्षीय सुरेश बुढाले बताउनु भयो । उहाँले भन्नुभयो -‘शिक्षक नहुँदा पढ्न नपाएको महिनौ भयो । दोश्रो त्रैमासिक परीक्षा नजिकिँदै गर्दा शिक्षक अभाव हुनाले समस्या भएको छ ।’
अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयका प्राविधिक विभागका संयोजक मदन थापाले माध्यमिक तहको अङ्ग्रेजी विषयको शिक्षकका लागि दुई पटक विज्ञापन गरिएको भए पनि अहिलेसम्म विद्यालयले शिक्षक पाउन नसकेको बताउनु भयो । कोही शिक्षक सम्पर्कमा आए पनि तलब कम रहेको भन्दै सम्पर्क विहीन हुँदा विद्यालय परिवारलाई समस्या भएको संयोजक थापाले इन्सेकलाई जानकारी दिनुभयो ।
काइके गाउँपालिका–३ का वडा अध्यक्ष राजु बुढाका अनुसार विद्यालयमा शिक्षक अभाव भएको अवगत नै छ । आफ्नो वडाको तर्फबाट शिक्षकको विषयमा सक्दो पहल गरेर गाउँपालिका शिक्षा शाखालाई निरन्तर घचघच्याउने काम भइरहेको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
शिक्षक नपाउँदा विद्यालयको पठनपाठनमा पनि समस्या भएको विषयलाई गम्भीरताका साथ लिँदै चाँडै नै शिक्षक पदपुर्ति गर्ने प्रयास भइरहेको काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् विद्यालयका प्रधानाध्यपक घर्तीले बताउनु भयो ।