नगर अस्पताल सञ्चालनमा आएपछि सुत्केरी र गर्भवती महिलालाई सहज भएको छ । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका-१० स्थित सहिद स्मृति नगर अस्पतलले गर्भवती र सुत्केरी महिलालाई सेवा दिन थालेपछि उहाँहरूलाई सहज भएको हो ।
गाउँमै अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि चौरजहारी मिसन अस्पताल तथा जिल्ला बाहिरा सुविधा सम्पन्न अस्पताल धाउन पर्ने अवस्थाको अन्त्य भएको स्थानीय रिता चन्दको भनाइ छ । उहाँका अनुसार समयमै उपचार पाउँदा स्वास्थ्य जोखिमको अन्त्य भएको आर्थिक अभावले चौरहजरी मिसन अस्पताल जान नसकेका नागरिक स्वास्थ्य सेवा पाएपछि खुसी भएका छन् । चौरजहारी नगरपालिका-५ की विष्णु डाँगीले गर्भवती सुत्केरी महिलाहरू गर्भ जाँचका लागि चौरजहारी जानुपर्ने बाध्यता अन्त्य भइ गाउँमै अस्पताल सञ्चालनमा आएपछि सहज भएको बताउनु भयो ।
गत आर्थिक वर्षमा नगर अस्पतालबाट १५ हजारभन्दा बढी बिरामीले सेवा लिएका थिए । आर्थिक वर्ष ०८०/८१ मा विभिन्न रोगका १५ हजार २ सय २६ जना बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
गाउँबस्तीमा अस्पताल सञ्चालन भएपछि बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रशासक विश्वप्रकास ओलीले गाउँमा डाक्टरसहित स्वास्थ्य सेवा पाएपछि नागरिकलाई सहज भएको बताउनु भयो । यता सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । गत वर्ष नगर अस्पतालबाट ३ सय १२ जनाको सामान्य सर्जिकल, १ सय २ जना सुत्केरी भएका थिए । अस्पताल प्रशासक ओलीले पाँच शैयाको अस्पतालमा दैनिक सात जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको बताउनु भयो ।
गत वर्ष १ हजार ८ सय ७८ जनाले एक्सरे सेवा, ६ हजार ८ सय जनालाई ल्याव सेवा, २ सय १ जनाले परिवार नियोजनका साधनको प्रयोग गरेका छन् भने ५ सय ५ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छ । अस्पतालबाट श्वासप्रश्वास सम्बन्धी २ सय जना ग्यास्ट्रिक सम्बन्धी ५ सय ७२ र दुखाई तथा चोटपटक सम्बन्धी ४ सय ३८ जनाले सेवा लिएको प्रशासक ओलीले बताउनु भयो ।
नगर अस्पतालका डाक्टर विवेक केसीले ग्यस्ट्रिक दुखाई तथा चोट लागेका बिरामी बढी आउने गरेको बताउनु भयो । गाउँम डाक्टर सहितको उपचार सेवा पाएपछि बिरामीको चाप बढ्न थालेको छ । अस्पताल नजिक नहुँदा बिरामीलाई धामीझाँक्री तथा घरेलु उपचार गर्ने गरेका नागरिक धामीझाँक्रीभन्दा अस्पताल तिर आकर्षित भएका छन् । नगर अस्पताल सञ्चालनमा आएपछि रुकुमपश्चिम र सल्यान जिल्लाका बिरामीले सेवा लिने गरेका छन् । अस्पतालले आकस्मिक बिरामी जाँच सुत्केरी सेवा, किशोरकिशोरी मैत्री सेवा, ल्याव तथा भिडियो एक्सरे सेवा, ओपिडि लगाएतका सेवा सञ्चालन भएका छन् ।
