दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ ।
भदौ २४ गते बिहान मृत्यु भएपछि कसैलाई खबर नगरी पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदी किनारमा सतगदका लागि पुयाइएको शव प्रहरीले भदौ २४ गते बरामद गरेको जनाएको छ ।
भदौ २३ गते बिरामी परेपछि उपचारका लागि तनहुँको तुरतुरेस्थित गोरखा पोलिक्लिनिक सामुदायिक अस्पताल पुर्याइएको थियो । भदौ २३ गते नै डिस्चार्ज भएर कोठामा फर्किनु भएकी बुढा मगरको मृत्यु भदौ २४ गते भएको थियो ।
शव बरामद गरेपछि प्रहरीले गोरखा अस्पताल ल्याएर शवको पोष्टमार्टम गरी भदौ २४ गते नै आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
छिमेकीले प्रहरीलाई समेत खबर नगरी शवको सतगद गर्न लगिएको भन्दै खबर गरेपछि प्रहरीले घाटैमा पुगेर शव बरामद गरेको थियो ।
आफन्त र प्रहरीलाई समेत थाहा नदिइ सतगद गर्न लागिएकाले कल्पनाको मृत्यु शङ्कास्पद हुनसक्ने भएकाले पोष्टमार्टम गरिएको डिएसपी श्रेष्ठको भनाइ छ ।