जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तलाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । त्रिभुवन विश्वविद्यालय आन्तरिक करार प्राध्यापक सङ्घ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा ताला लगाउँदा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको हो ।
जुम्ला बहुमुखी क्याम्पसमा व्याच्लर र मास्टर तह गरी करिव ८ सय विद्यार्थी रहेका छन् । करारका शिक्षक आन्दोलित भएपछि क्याम्पसमा पठनपाठन पनि प्रभावित भएको छ । सबै कानुनी प्रक्रिया पूरा गरी नियुक्त भएका शिक्षकलाई बेलाबेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्ने जस्ता अमर्यादित कार्य गरिएको भन्दै ताला लगाइएको त्रिभुवन विश्वविद्यालय आन्तरिक करार प्राध्यापक सङ्घ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिका अध्यक्ष शुवाशचन्द्र शाहीले बताउनु भयो ।
‘बारम्बार ध्यानाकर्षण गराउँदा पनि शिक्षकको अपमान गराउने काम भएको हुँदा माग सम्बोधन नहुन्जेलका लागि क्याम्पसको लेखा शाखा, प्रशासन शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ’, उहाँले भन्नुभयो ।
जुम्ला बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन तथा सञ्चालक समितिको विभिन्न बैठकबाट पारित भएका निर्णय अनुरुप पदीय जिम्मेवारी दिइएका शिक्षकहरूलाई सेवा सुविधा नदिइ गरिएको अपमानजनक व्यवहार गरिएको अध्यक्ष शाहीले बताउनु भयो । ‘करारका शिक्षकहरूको हकहित र मान मर्यादाको अवहेलना गरेकाले अन्य पाउने सेवा सुबिधाको माग गर्दा समेत नदिएको हुनाले अन्तिम विकल्प प्रयोग गर्न बाध्य भएका छौँ । यो आन्दोलनबाट हुने समस्याको सम्पूर्ण जिम्मेवारी स्वयम् क्याम्पस प्रमुखले लिनुपर्ने छ’, उहाँले भन्नुभयो ।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओमप्रकाश आचार्यले करारका शिक्षकसँग बसेर छलफल गरी तत्काल समस्या समाधान गरी पठनपाठन गर्ने वातावरण सिर्जना गर्ने बताउनु भयो ।
