तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष ३४ वर्षीय दुजमान भण्डारी र वडा सदस्य ३० वर्षीय यम केसीलाई अपरिचित व्यक्तिहरूले भारतीय मोवाइल नम्वरबाट पटक पटक धम्की दिएका छन् ।
वडाध्यक्ष भण्डारी र सदस्य केसीले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूमाथि भारतीय नम्वरबाट पटक पटक मार्ने धम्की आएको भन्दै जीवन खतरामा परेको उल्लेख गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका–६ को तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने सडक निर्माणको क्रममा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४० वर्षीया इलिजा डाँगी वली र उहाँका पति ४५ वर्षीय जागेश्वर वलीको पर्खाल भत्काएको विषयलाई लिएर भारतीय मोवाइलबाट नचिनेका भारतीय र नेपाली फरक फरक व्यक्तिले साउन ३० गतेदेखि लगातार मार्ने धम्की दिइरहेको पीडित जनप्रतिनिधिले जानकारी दिनुभयो ।
भारतीय व्यक्तिको प्रयोग गरेर इलिजा र जागेश्वरले आफूहरूलाई मार्ने धम्की दिइरहेको भन्दै पीडित भण्डारी र केसीले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा भदौ २ गते र जिल्ला प्रहरी कार्यालयमा भदौ ७ गते उजुरी दिनुभयो । इलाका प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालयमाले समेत सुनुवाई नगरेको भन्दै भदौ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको पीडित भण्डारीले बताउनु भयो । जनप्रतिनिधिहरूले आफूहरूलाई मार्ने धम्की अडियोसहितका प्रमाणहरू बुझाउँदा समेत आरोपितहरूलाई सोधपुछ समेत नगरिएको भन्दै प्रहरीको भूमिकाप्रति शङ्का लागेको उहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले धम्क्याउने व्यक्ति भारतमा रहेकोले उनीहरूलाई साइवर क्राइमतर्फ उजुरी दिन भनेको बताउनु भयो । साथै उहाँले निवेदनमात्रै आएकाले मुद्दा चलाउन नसकिएको बताउनु भयो । डिएसपी पोखरेलले प्रमाणसहित उजुरी दिन आग्रह गर्नुभयो ।