INSEC Online

📅 २०८३ जेष्ठ २१

झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु

नरैनापुर गाउँपालिका–३, गेगलीस्थित झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–३, गेगलीका ६० वर्षीया शान्ती पासी, बुहारी २५ वर्षीया रुपा पासी, नातिनी डेढ वर्षीया नन्दिनी पासी र सोही ठाउँका १२ वर्षीय युसुफ अली रहेका छन् ।

दलित समुदायमा मौसम परिवर्तन र दूषित खानेपानीका कारण झाडापखालाको समस्या देखिएको नरैनापुर गाउँपालिका-३ का वडाध्यक्ष अजय कुमार मिश्रले बताउनु भयो । एक सातायता फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाबाट औषधी तथा स्लाइनपानी ल्याइ गाउँपालिकाका १५ जना स्वास्थ्यकर्मीको टोली घरदैलो कार्यक्रममा खटिएका छन् ।

खानेपानी र मौसम परिवर्तनका कारण झाडापखालाबाट चार जनाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका जनस्वास्थ्य प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र सशस्त्र प्रहरी बलका एसपी विमल डाँगी समेत आएर स्थिति नियन्त्रणका लागि आफूहरू सहयोग गर्न प्रतिबद्ध रहेको व्यक्त गर्नुभएको छ ।

स्वास्थ्यकर्मीहरू फिल्डमा खटेर घरदैलो कार्यक्रम गरिरहेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी एवम् विपद् व्यवस्थापन शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनु भयो ।

अन्य

भिडियो