२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दङ्गिशरण गाउँपालिका–२ का ४५ वर्षीय दिपक वलीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको ०८१ भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित महिलालाई वलीले ०८० पुस १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । वलीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो ।