INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरो र भूकम्पले घर भत्किएपछि एक परिवारको बिचल्ली

गत कात्तिक महिनामा गएको विनाशकारी भूकम्पले घरवार विहीन भएका नागरिकको पहिरोले टहरा समेत भत्किएपछि परिवारको बिचल्ली भएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गल मालुझाडका ३६ वर्षीय करन गिरीको पहिरो र भूकम्पका कारण घरटहरा तहसनहस भएपछि आवास विहीन हुनुभएको हो ।

भूकम्पले घर ढलेपछि अस्थायी टहरामा बसेका करनलगायत स्थानीयहरु विपद्जन्य मनसुनले बाढीपहिरो जान थालेपछि डरत्रासमा रात बिताउन बाध्य भएका छन् । ०८० कात्तिक महिनामा आएको भूकम्पले धनजनको क्षति व्यहोरेका करण गिरीको ०८१ भदौ १२ गते राति गएको पहिरोले टहरासँगै उहाँलाई पनि बगाएपछि उहाँको परिवारको बिचल्ली भएको छ ।

परिङ्गल मालुझाडका करन गिरी भदौ १२ गते राति आएको पहिरोले टहरामा सुतेकै अवस्थामा सेती नदीमा खस्नु भयो । उहाँ सेती नदीमा पुगेपछि आफू र जस्ताले छाँएको घरसँगै पहिरोले नदीमा पृगाएको थाहाँ पाउनु भयो । झण्डै सेती नदीमा डुबेका करनले एक हातले ढुङ्गामा समाउँदै उत्रिए र गुहार माग्न थाल्नु भयो ।

मलाई बचाउनुस् भन्ने ठूलो आवाज आएको सुनेपछि मालुमेलाबासीका दिपेन्द्र खड्का, जया गिरी, हरिलाल केसीलगायतका स्थानीयहरुले उहाँलाई शकुसल उद्धारा गर्नुभएको थियो । ३६ वर्षीय करनको शरीरभरी चोट लागेकाले बोल्न सक्ने अवस्थामा उहाँलाई जिल्ला अस्पताल, सिमखेतमा लगेर उपचार गरिएको थियो ।

photo20240830bajhang

संयोगवश करनकी पत्नी धना गिरी र उहाँका तीन छोराछोरी त्यो दिन घर बाहिर थिए । धना महिनावारी हुनुभएकोले तीन केटाकेटी सहित गाउँको पुरानो घरमा सुत्न जानुभएको थियो । करन सेतीमा खसेपछि गाउँलेले उहाँलाई खबर गरेपछि मात्रै घटनास्थल पुग्नुभएको थियो । महिनावारी नभएको भए सबै परिवारको एकै चिहान हुने र भाग्यले पति पनि बाँच्न सफल हुनुभएको उहाँले बताउनु भयो ।

पहिरोका कारण टहरासँगै खाद्यान्न, लुगाकपडा,  ९ हजार रुपियाँ नगद र  बालबालिकाका स्कुलका प्रमाण–पत्र नदीमा बगेको पीडित धनाले दुखेसो पोख्नु भयो । भूकम्पले घरहरु चर्किएको भए पनि बलियो चट्टान भन्दै बसिरहेका परिङ्गल र मालुमेलाबासी यो पहिरोपछि भने त्रसित हुनुभएको छ ।

पहिरोले टहरा र भुकम्पले घर लगेपछि करनको परिवार बिचल्लीमा परेको छ । गाउँमा एउटा पुरानो घर भए पनि ६ जनाको परिवारलाई बस्न नमिल्ने भएकोले आफूहरु बिचल्लीमा परेको पीडितकी पत्नी धना गिरीले गुनासो गर्नुभयो ।

गिरीको घर भूकम्पले भत्किएपछि सरकारको अनुदान सहयोगमा बनाएको टहरा पहिरोले भत्किदा ६ जनाको परिवार बिचल्लीमा परेको छ । ‘भूकम्पले घर भत्कायो । पहिरोले टहरा नदीमा पुगायो । विपद् गरिबलाई नै आउने रहेछ । कति पीडा सहेर बाँच्ने हो ?’, गिरीले भन्नु भयो । भूकम्पबाट बाँचियो । पहिरोबाट बाँचियो । अब के विपद् आइलाग्ने हो । पहिरोले टहरामा भएको अन्नपात पुरिएपछि खाना बस्न समस्या भएर हामी बिचल्लीमा परेका छौँ ।’

छबिसपाथिभेरा गाउँपालिकाले तत्कालका लागि ग्याँस चुलो, खाद्यान्न, ओड्ने बिछ्याउनेलगायत अतिवश्यक सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेको र केही दिन भित्रै गाउँपालिकाले दुई कोठे जस्ताको टहरा पनि पीडित परिवारका लागि निर्माण गर्ने गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले बताउनु भयो ।

गरिब, विपन्न, आर्थिक अभावले बास बनाउन नसक्ने जनतालाई सरकारले दिएको अनुदान सहयोगबाट बनाएका टहरा समेत पहिरोले बगाएपछि स्थानीयहरुलाई ज्यान जोगाउन गाह्रो भएको छ । भिरालो तथा भूकम्पले धुजा फाँटेको जमीन पानीले भिजाएपछि पहिरोको डरले करन गरीलगायतका स्थानीयहरु रातभर जाग्राम बस्नु पर्ने बाध्याता छ ।

अन्य

भिडियो