INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमाको पहुँच बाहिर

प्यूठान जिल्लाका ७० प्रतिशत नागरिकहरू स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमा लागु भएको नेपाल सरकारको स्वास्थ्य बिमा कार्यकममा हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ३० प्रतिशत नागरिकहरू मात्र बिमा कार्यक्रममा सहभागि भइ सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय, प्यूठानले जनाएको छ ।

जिल्लामा २०७५ सालदेखि शुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम बिमा बनाउन झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्त्व नबुझेको कारण स्वास्थ्य बिमामा सहभागि हुनेको सङ्ख्या कम देखिएको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका दर्ता अधिकारी जेदबहादुर घर्तिमगरले बताउनु भयो । २०७८ को जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या २ लाख ३२ हजार १९ रहेकोमा हालसम्म ६८ हजार ८ सय ३५ जनाले स्वास्थ्य बिमामा सहभागि भएको उहाँले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी र घातक खालको टिबीका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य बिमा सुविधामा सहभागिता हुन पाउने नीति रहेको र सोही बमोजिम आबद्ध रहेको उहाँको भनाइ छ ।

जिल्लाभर ५८ जना बिमा दर्ता सहयोगीहरू मार्फत बिमा कार्यक्रम सञ्चालन गरएिको, जिल्लाका नौ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी माण्डबी गाउँपालिकामा ७२ प्रतिशत र सबैभन्दा कम सरुमारानी गाउँपालिकामा १२ प्रतिशत मात्र सहभागि भएको सम्पर्क कार्यालयले जनाएको छ । बिमामा सहभागि धेरै जसो नागरिकहरूले बिमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् । बिमा बनाए पनि स्वास्थ्य संस्थामा औषधिहरू नमिल्ने, आफ्नै खर्चबाट औषधि किन्नुपर्ने अवस्था रहेको छ । अस्पतालमा स्वास्थ्य बिमा बापत मिल्ने सुविधाहरू प्रभावकारी रूपमा नपाएको स्वास्थ्य बिमामा सहभागि प्यूठान नगरपालिका-३ की ४९ वर्षीया उमा खडकाले बताउनु भयो ।

स्वास्थ्य बिमा गरेका नागरिकहरूले प्रभावकारी रूपमा सेवा सुविधा नपाएको दर्ता सहयोगीहरूलाई गुनासो गरे पनि त्यसको सुनुवाई नहुँदा जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिकहरूको आकर्षण नबढनु, उपचार प्रक्रिया झन्झटिलो र बिमा बोर्ड तथा स्वास्थ्य बिमा प्रदायकले जनचेतना वृद्धि र बिमाको महत्त्व बुझाउन सके सबै नागरिकहरू बिमाको पहुँचमा आउन सक्ने बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका दर्ता अधिकारी घर्तिमगरलेको भनाइ छ ।

अन्य

भिडियो