INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको प्रभावः याङगारका स्थानीय खानेपानीको पहुँचमा जोडिँदै

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक हाल खानेपानीको पहुँचमा जोडिएका छन् ।

इन्सेक अनलाइनमा ०८१ भदौ ९ गते ‘दुई सातादेखि याङगारका ३२ घरधुरी खानेपानीबाट वञ्चित‘ शीर्षकमा समाचार प्रकाशित भएपछि वडा कार्यालयले तत्काल सदरमुकाम सिमकोटमा रहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय, हुम्लालाई पाइपको व्यवस्थापन गर्न अनुरोध गरेपछि याङगारका स्थानीय खोपानीको पहुँचमा जोडिएको वडा अध्यक्ष लातार लामाले बताउनु भयो । अध्यक्ष लामाले इन्सेक अनलाइनमा प्रकाशित समाचारकै कारण आफूहरूले खानेपानीको व्यवस्था गर्न तर्फ लागेको उल्लेख गर्नुभयो । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई डवल निर्माण गर्ने क्रममा पाइप लाइनमा क्षति पुगेपछि दुई सातादेखि सो गाउँका स्थानीय नागरिक खानेपानीबाट वञ्चित भएका थिए ।

सिमकोट हिल्सा सडक खण्ड अन्तर्गतको बाटो निर्माण गर्ने क्रममा साउन २५ गतेदेखि खानेपानीको पाइपलाइन क्षतिविक्षत बनाएपछि याङगार गाउँका ३२ घरधुरी खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीय छोमु तामाङले गुनासो गर्नुभएको थियो । तर समाचारको प्रभावले वडा कार्यालय आत्तिएर छिटो छरितो काम गर्न सफल भएको स्थानीय तामाङको भनाइ छ । करीब २ सय मिटर खानेपानीको पाइपलाइन निर्माणपछि यहाँका नागरिक खोलाको धमिलो पानी खाने समस्याबाट मुक्त भएको वडा अध्यक्ष लामाले बताउनु भयो ।

अन्य

भिडियो