
हुलाकी राजमार्ग अन्तरगत सिरहा र धनुषा जिल्ला जोड्न सक्ने नयाँ पुल कमला नदीमा निर्माण गर्न माग गर्दै ०८१ भदौ ४ गतेदेखि जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको १० जनाको पुल निर्माण संघर्ष समिति सामूहिक आमरण अनशन बस्नु भएकाे छ ।
१३ वर्ष अगाडि कमला नदीमा पुल निर्माणको कार्य सुरु भएकाे थियाे र अधिकांस काम सम्पन्न भएपनि पुल सूचारु हुन सकेको छैन् । निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तरन गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसयता विभिन्न कोणबाट ताकेदा भएपनि सुनुबाई नभएपछि बाध्य भएर आमरण अनशनमा बस्नु परेको ईन्जिनियर प्रविण कुमार यादवले बताउनु भयो ।
हुलाकी सडक अन्तरगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नं. ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं. ४ का अध्यक्ष मोहम्मद समशाद आलम, वडा नं. ८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका वडा नं. ४ का अध्यक्ष सुरेन्द्र कुमार यादव, वडा नं. ३ का अध्यक्ष जीवछ यादव, वर्ल्ड फर नेपालका मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव आमरण अनशनमा बस्नु भएकाे हाे ।
“२०८१ साउन २७ गते पुल निर्माणका लागि मधेस प्रदेशका मुख्यमन्त्री समक्ष एक सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाएका थियौं र माग पुरा नभए आमरण अनशन बस्ने चेतावनी समेत दिएका थियौं”–संघर्ष समितिका संयोजक यादवले बताउनु भयो । तर, ज्ञापन पत्र बुझाएको सात दिन बितिसक्दा पनि मधेस प्रदेश सरकारले कुनै किसिमको चासो नदेखिएपछि सामूहिक अनसन बस्नुपरेको उहाँले बताउनु भयो । साथै अनसनरत १० जना मध्ये तीन जनाको स्वास्थ्य अवस्था बिग्रिदै गइरहेको संघर्ष समितिका अध्यक्ष यादवले बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान र इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवले आमरण अनशनमा बस्नु भएका संघर्षरत समूहसँग भदौ ६ गके प्रत्यक्ष रुपमा भेटघाट गरी उहाँहरूको माग र स्वास्थ्य अवस्था बारे जानकारी लिनु भयो । त्यस्तै भेटघाट तथा अनुगमनको क्रममा संघर्ष समितिका संयोजक यादवले प्रदेशसँगै केन्द्र सरकारलाई कमला पुल निर्माणका निम्ति बजेट विनियोजन गरी पुल निर्माणको कार्य यथासिघ्र अगाडि बढाउन बाध्य बनाउनका लागि आमरण अनशनमा बसेको बताउनुहुँदै इन्सेक मधेस प्रदेशका संयोजक पासवानलाई मुख्यमन्त्रीसँग हाम्रो मागबारे समन्वय गरिदिनुहुन आग्रह समेत गर्नुभयो ।
त्यसैगरी, इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग कुरा गर्दा अनशनरत पुल निर्माण संघर्ष समितिको माग पूरा गर्न हामी तयार रहेको बताउनुभयो ।


