जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा ब्लड बैङ्क नभएपछि सेवागहीहरूले सास्ती खेप्नु परेको हो ।
जिल्ला अस्पतालमा सुत्केरी गराएपछि अधिकांश सुत्केरी महिलाहरूलाई रगतको आवश्यकता पर्ने गर्दछ । तर सो कार्यालयमा विगत लामो समयदेखि उक्त सेवा नहुँदा सुत्केरीलाई समस्या हुने गरेको छ । सिमकोट गाउँपालिका–२ की २५ वर्षीया रुप्सी बोहराले भदौ ५ गते दोस्रो सन्तानका रूपमा छोरी जन्माउनु भयो । बोहरा रक्त अल्पताबाट ग्रसित हुनुभयो । ब्लडको आवश्यक्ता समेत पर्यो । तर ब्लडको समधान हुन निकै कठिन भएको सुत्केरी बोहराका पति तिलक बोहराले उल्लेख गर्नुभयो । ‘यहाँको एक मात्र जिल्ला अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा ब्लड बैङ्क नहुनुमा सरकारको लापरवाही हो’, उहाँले भन्नुभयो । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा सामान्यदेखि जटिल घटनाको आवश्यक्ता परिपूर्ति हुनु पर्नेमा पर्याप्त स्रोतसाधन नहुनुले आफ्नो मनोवल घट्दै गएको बोहराको भनाइ छ ।
अधिकांश सुत्केरी महिलाहरू जिल्ला अस्पताल भरपर्दो भन्दै सुत्केरी हुने समयमा सदरमुकाम सिमकोटमा आएर बस्ने गर्दछन् । तर उनीहरूका लागि जिल्ला अस्पतालमा कुनै भरपर्दो सामग्री नहुँदा बिरामीहरूले अकालमै ज्यान गुमानुपर्ने र जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । जिल्ला बाहिर जानु पर्दा पनि समयमै हवाई जहाजको पहुँच नहुने, आर्थिक स्रोतको भार लगायतका समस्याले दुख झेल्नु परेको अर्का स्थानीय अर्जुन बोहराले बताउनु भयो । उहाँका अनुसार अन्य जिल्ला जस्तै सुविधा सम्पन्न भइदिएको भए यहाँका बिरामीलाई कष्ट भोग्नु पर्ने थिएन ।
दुई दिनदेखि जिल्ला अस्पतालको वर्थिङ्ग सेन्टरमा रक्तश्रावले थला परेर गम्भीर अवस्था हुनुभएकी बोहराको भदौ ६ गते जिल्ला प्रहरी कार्यालय, हुम्लाका असई थमनसिंह घर्तिमगरले बि पोजेटिभ रगत दिएपछि ज्यान बचाउन सफल भएको पति तिलक बोहराले बताउनु भयो । हुम्लामा यस्ता घटनाहरू धेरै हुने गर्दछन् । जसका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको छ । गत दुई वर्षमा जिल्लामा दुई जनाको रक्त अल्पताकै कारण मृत्यु भएको थियो ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ब्लड बैङ्क स्थापना गर्नका लागि धेरै आर्थिक लगानी गर्नुपर्ने भएकोले रकम अभावमा स्थापना गर्न नसकेको बताउनु भयो । हालसम्म त्यस्ता खाले घटना आएपछि बाहिरका व्यक्तिहरूबाट सहयोग मागेर काम चलाउँदै आएको उहाँको भनाइ छ ।