जलेश्वर नगरपालिका-८ रमौल की १९ वर्षीया रिना राउतलाई पति २४ वर्षीय रोहन राउतले घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले ०८१ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
हंसपुर नगरपालिका-६ सोनगामा माइती भएकी रिनाको ०८१ वैशाख १९ गते रोहन राउतसँग विवाह भएको थियो । विवाहमा दाइजो र अन्य सबै खर्च गरी १५ लाख रुपियाँ भन्दा बढी खर्च गरेपनि थप दाइजोका लागि आरोपितले रिनालाई पटकपटक शारीरिक तथा मानसिक यातना दिने गरेको मृतकका काका ५० वर्षीय उद्गार राउतले बताउनु भयो । रिनाको घाँटीमा रातो दाग देखिएकोले थप आशङ्का जगाएको उहाँले बताउनु भयो ।
त्यस्तै, आरोपित पति र पत्नीबीच भदौ ४ गते घरायसी विवाद हुँदा आरोपित पति पतिसहित ससुरा ५५ वर्षीय बृजमोहन राउत, सासु ४६ वर्षीया मन्तनेरिया देवी राउत र देवर २२ वर्षीय ओमकुमार राउतले पत्नीलाई घाँटी थिचेर हत्या गरेको भन्दै मृतकका माइति पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
तर, आरोपित पक्षकाले भन्नु भयो- “भदौ ४ गते राति अचानक रिनाको टाउको दुखेकोले उनलाई आराम गर्न सल्लाह दिएको र केही छिनमै शरीर अचेत र चिसो भएपछि अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको थियो” ।
शवलाई पोष्टमार्टमका लागि भदौ ५ गते प्रदेशिक अस्पताल जलेश्वर लगिएपनि पीडित पक्षले शवको पोष्टमार्टम समिति बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल गरिनुपर्ने माग गरेपछि भदौ ६ गते जनकपुरधाम लगिएको थियो । शवको पोष्टमार्टम प्रतिवेदन तथा घटनाको थप अनुसन्धान र अध्ययन गरी दोषीविरुद्ध कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।