INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

जिल्लामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ । सल्यानमा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन । १५ शैयाको जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प देखिएको छ । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता छ ।

Photo19082024Salyan3

सल्यानको त्रिबेणी गाउँपालिका–५ कि २८ वर्षीया इन्द्रा खड्का जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटाई रहनु भएको थियो । डाक्टरले उहाँका आफन्तलाई रगत अभाव छ, रगतको खोजी गर्नुहोला भन्नुभयो । आफन्त रगतको खोजीमा जुटे । तर कतै भेटाएनन् । पछि उहाँलाई गैरसरकारी संस्था महासङ्घ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले रगत दिनुभयो । त्यसको केही दिनमा फेरी उहाँलाई रगत चाहियो । पछि छत्रेश्वरी गाउँपालिका–५, लेखपोखराका प्रकाश नेपालीले रगत दिएपछि इन्द्राको ज्यान बच्यो ।

Photo19082024Salyan

कतिपय बिरामीलाई अस्पतालमा कार्यरत कर्मचारीले समेत रगत दिएर बचाउनुपर्ने अवस्था छ । जिल्लामा ‘ब्लड बैङ्क’ नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ । पटक–पटक जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ । जिल्लामा ‘ब्लड बैङ्क’ स्थापनाको लागि प्रयास पटक–पटक गरिए पनि सफल भएको छैन । जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरु व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ । १९ औँ पटक रक्तदान गरिसक्नु भएका रक्तदाता हिमाल यात्रीले जिल्लामा ब्लड बैङ्क नभइ नहुने बताउनु भयो । ‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ । यसको अन्त्यका लागि ब्लड बैङ्क स्थापनाको विकल्प छैन’, उहाँले भन्नुभयो । विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । जिल्लामा रगतको आवश्यकता रहेको र जिल्लामै रगत सङ्कलन गर्ने र खपत हुन नसकेको रगतलाई जिल्ला बाहिर पठाउने गरी समन्वयात्मक ढङ्गबाट ब्लड बैङ्क सञ्चालन गर्न अनिवार्य रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय, सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले रेडक्रस, जिल्ला अस्पताल सल्यानको सहकार्यमा ब्लड बैङ्क सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो । ‘स्वास्थ्य कार्यालय तथा अस्पताललाई ब्लड बैङ्क सञ्चालन गर्ने अनुमति छैन, त्यही भएर रेडक्रसले सञ्चालन गर्ने तयारी गरेको छ,’ उहाँले भन्नुभयो । सुत्केरी हुने र अन्य रोगका लागि रगत चाहिने बिरामी महिनामा आठ/दश जना आउने गरेका र ब्लड बैङ्क नभएकाले आपत्कालीन रक्तसञ्चार केन्द्र मार्फत रगत सङ्कलन गरेर शल्यक्रिया गर्ने गरिएको उहाँको भनाइ छ । ब्लड बैङ्क नभए पनि रगतको अभावमा अहिले कसैले ज्यान गुमाउनु नपरेको र अरुले दिएकै रगतबाट बिरामीको उपचार तथा जटिल समस्या भएका गर्भवतीलाई शल्यक्रिया गरेर ज्यान बचाउँदै आएको उहाँले बताउनु भयो ।

Photo19082024Salyan1

रगत अभावका कारण नागरिकले पाएको सास्तीलाई मध्यनजर गर्दै जिल्लामै ब्लड बैङ्क सञ्चालन गर्ने तयारी गरिएको छ । हाल आपत्कालीन रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालन गरिरहेको नेपाल रेडक्रस सोसाइटी सल्यानले तत्कालै ब्लड बैङ्क सञ्चालनका लागि तयारी गरिरहेको जनाएको छ । यसका लागि आर्थिक क्षेत्रलाई बलियो बनाउन अक्षयकोष स्थापना गरिएको मन्त्री इन्द्रकुमार शर्माले बताउनु भयो । ‘जिल्ला अस्पतालमा आपत्कालीत रक्तसञ्चार केन्द्रको स्थापना रेडक्रसले गर्‍यो, त्यसका लागि चाहिने आवश्यक सामाग्री तथा उपकरण रेडक्रसले दियो । ब्लड बैङ्क सञ्चालनका लागि भवन हामीले नै बनायौँ । जतिसक्दो चाँडो ब्लड बैङ्क सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका छौँ । माथिल्लो निकायमा पनि समन्वय गरिरहेका छौँ । एउटा ब्लड बैङ्क जिल्लामा आवश्यक हो । १५ शैयाबाट ५० शैयामा जिल्ला अस्पताल स्तरोन्नति भएमा रगतको माग अझै बढ्छ, त्यसैले ब्लड बैँक स्थापनाको तयारी गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

हाल जिल्लामा सङ्कलन भएको रगत खपत हुने अवस्था नभएमा जिल्ला बाहिर पठाउने गरिएको उहाँको भनाइ छ । ‘जिल्ला अस्पतालमा आवश्यकताका आधारमा विभिन्न निकायबाट रगत आपुर्ती भइरहेको छ । यसमा रेडक्रसको अहम् भुमिका छ, कहिलेकाही धेरै रगतको काम हुने र कहिले कम माग हुने भएकाले केही समस्या जस्तो देखिएको हो’, मन्त्री शर्माले भन्नुभयो ‘अबका दिनमा नागरिकले रगतकै लागि भौतारिनु नपर्ने गरेर ब्लड बैङ्क सञ्चालन हुन्छ ।’

Photo19082024Salyan2

अन्य

भिडियो