INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली राजमार्गमा यात्रुलाई सास्ती, ६४ दिनमा १ सय ४५ परिवार विस्थापित

मनसुन सुरु भएयता कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) पटक–पटक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती पाउँदै आएका छन् । कर्णालीमा मनसुनजन्य विपद्बाट ६४ दिनको अवधिमा विपद्का घटनाबाट १ सय ४५ घर परिवार विस्थापित भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार ०८१ जेठ २८ गतेदेखि साउन २७ गतेसम्म निजी आवासतर्फ ९० पूर्ण क्षति, ५९ घरमा आंशिक क्षति भएको छ । यस्तै सार्वजनिक संरचनातर्फ १० पूर्ण र ६ ओटामा आंशिक क्षति भएको छ । त्यस्तै पहिरो तथा बाढीमा गरी १० जनाको मृत्यू भएको छ । यो अवधिमा विपद्मा परी एक जना बेपत्ता भएका छन् । विपद्का घटनामा परी २१ ज्ना महिला, ३४ जना पुरुष गरी ५५ जना घाइते भएका छन् । यसैगरी २ सय ५७ पशु चौपायको मृत्यु भएको छ ।

Photo18082024Surkhet1

कानुन मन्त्रालय अन्तर्गतको विपद् शाखाले यो वर्षको विपद् पूर्व तयारी कार्य योजना बनाएको छ । सोही अनुसार विपद् न्यूनीकरणमा सरकारले काम गरिरहेको कानुन मन्त्रालयले जनाएको छ । विपद् जोखिम सामूहिक दुर्घटना बिमा बापत् ६ करोड ९० लाख रकम दिइएको छ । गत आर्थिक वर्षमा विपद् घटनामा परी ज्यान गुमाएका १ सय ६६ जनाका आफन्त तथा हकदारहरू ३ करोड ७२ लाख बिमा रकम भुक्तानी गरिएको कानुन मत्रालय अन्तर्गतको विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

विपद्बाट घरबार विहीन भएका नागरिकका लागि यो वर्षदेखि सरकारले नयाँ योजना ल्याएको छ । विपद्बाट निजी आवास क्षतिका कारण नागरिक घरबारविहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि निजी घरको जोखिम बिमा कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरिएको प्रमुख रोकायाले बताउनु भयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्गमा स्थानीयले दैनिक सास्ती भोग्दै आएका छन् ।

तिलागुफा गाउँपालिका–६, जुविथाका स्थानीय कृष्णबहादुर शाहीले यस राजमार्गम आफूले सास्ती भोग्दै आएको बताउनु भयो । ‘साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिएँ । एक दिनमै जुम्ला पुग्ने कार्यक्रम थियो । समयमा बाटो खुलेन, कामको चटारोले रिर्जभ गाडीमा महङ्गो भाडा तिरेर जान बाध्य भएँ’, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय जुम्लाले ०७९ को असोजमा गएको पहिरोले भत्किएको सडकको स्तरोन्नति गर्न विभिन्न १२ खण्डमा ठेक्का लगाए पनि काम गतिलो भएको छैन । ती ठाउँमा सडक हिलाम्मे हुँदा गाडी फस्ने समस्या उस्तै छ । जिल्ला ट्राफिक कार्यालय, कालिकोटका निमित्त इन्चार्ज झलक गिरीका अनुसार कालिकोटमा १ सय ३, दैलेखमा २३ र जुम्लामा सात ठाउँमा पहिरो जाँदा ३९ दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो । कालिकोटको हुल्म, एस मोड, गगनेखोला, मोल्फा, गल्ली, टाकुल्ला, राचुली लगायतका स्थानमा पटक–पटक पहिरोले सडक अवरुद्ध भएको उहाँको भनाइ छ ।

गएको चार आर्थिक वर्षको अवधिमा कर्णालीमा सडक दुर्घटनामा परेर ५ सय २१ जनाले ज्यान गुमाएका छन् । २ हजार ३ सय २६ वटा दुर्घटनामा परी १ हजार ३ सय ३४ जना गम्भीर घाइते भएका छन् । ३ हजार २ सय ७१ जना सामान्य घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी भूपेन्द्र शाहीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ सय ९१ सवारी दुर्घटना भएकोमा ९८ जनाको मृत्यु भएको थियो । १ सय ६९ जना गम्भीर घाइते भए भने ३ सय १९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ४ सय ३ ओटा सवारी दुर्घटना भएकोमा १ सय ८० जनाको मृत्यु भयो । ३ सय ६२ जना गम्भीर घाइते भए ५ सय ८८ जना सामान्य घाइते छन् ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ५ सय ४६ वटा सवारी दुर्घटना भएकोमा १ सय ३१ जनाको मृत्यु भयो । ३ सय ३१ जना गम्भीर घाइते भए भने ७ सय ५९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८६ ओटा सवारी दुर्घटना भए । जसमा १ सय १२ जनाको मृत्यु भयो । ४ सय ७२ जना गम्भीर घाइते भए भने १६ सय ५ जना सामान्य घाइते भए ।

Photo18082024Surkhet

अन्य

भिडियो