२७ वर्षीया खुशी मगरको पित्तथैलीको शल्यक्रिया पश्चात मृत्यु भएको घटनामा स्वास्थ्यकर्मीको लापारवाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।
महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किस्ट शिक्षण अस्पतालमा भर्ना गरी काठमाडौँ महानगरपालिका–३२ बस्ने मगरको ०८१ साउन २१ गते भर्ना भइ २२ गते शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आएकाले साउन २६ गते मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले आकस्मिक कक्षमा प्रवेश गरी चिकित्सकलाई अभद्र व्यवहार गरेको र अस्पतालको भौतिक संरचनामा क्षति पुर्याएको चिकित्सक सङ्घले जनाएको छ ।

अथक प्रयासको बाबजुद बिरामीको मृत्यु भएको भन्दै चिकित्सकले बिरामी पक्ष र प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि अस्पतालमा आक्रमण भएको सङ्घका महासचिव डाक्टर सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दोषीहरूको पहिचान गरेर कानुनको दायरामा ल्याउन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ बमोजिम कारबाही गर्न पनि सङ्घले माग गरेको छ ।
मृतकका आफन्तले ०८१ साउन ३२ गतेसम्म शव नबुझेकाले अस्पतालमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।