प्रहरीले अदालतमा १८ वर्ष माथि उमेर समूहका भनी पेश गरिएकालाई पनि अदालतले बालसुधार गृहमा पठाउने गरेको पाइएको छ ।
उमेर विवादमा परेका नभइ स्पष्ट उमेर खुलेका युवालाईसमेत बाल सुधार गृहमा पठाउने गरेका कारण बाल सुधार गृहमा युवायुवतीको सङ्ख्या प्रशस्त छ ।
भक्तपुरमा रहेको बाल सुधार गृहमा मात्रै ४६ प्रतिशत १८ वर्ष उमेर कटेकालाई राखिएको पाइएको हो ।
१२ वर्षीया बालिकालाई ०८० चैत २५ गते चाँगुनारायण नगरपालिका–३ का २० वर्षीय सागर परियारले बलात्कार गरेको भनी ०८१ जेठ १७ गते पीडितकी आमाले जिल्ला प्रहरी परिसर, भक्तपुरमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा र आरोपितलाई पेश ग¥यो । अदालतले आरोपितलाई पुर्पक्षका लागि ०८१ जेठ २२ गते अन्य कारागारमा नपठाइ भक्तपुरस्थित बाल सुधार गृहमा पठाएको प्रहरी परिसर भक्तपुर सहायक हवल्दार घनश्याम ठगुन्नाले जानकारी दिनुभयो ।
बाल सुधार गृहको क्षमता भन्दा धेरैलाई राख्नु पर्दा खानेपानी, आवासको समस्या भोगिरहेको भक्तपुर बाल सुधार गृहमा १८ वर्ष कटेका मात्रै १ सय १५ जना राख्नुपरेको सुविधा विहिन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालले जनाएको छ ।
‘२०–२१ वर्षका मात्रै होइन हाम्रो बाल सुधार गृहमा २७–२८ वर्षका व्यक्तिलाई पनि राख्नुपरेको छ ।’–युसेप नेपालका सामाजिक कार्यकर्ता प्रवीण शिल्पकारले भन्नु भयो ।
शिल्पकारका अनुसार मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा अहिले २ सय ४८ जना रहेकामा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १५ जना १८ वर्षमाथिका वयष्क राखिएको छ ।
बालबालिकासँग वयष्कलाई राख्दा सुरक्षा चुनौति बढ्नुका साथै अदालतभित्र नै ज्यादतीका घटना हुन सक्ने शिल्पकारले बताउनु भयो ।