INSEC Online

📅 २०८३ जेष्ठ २१

खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय जान बाध्य

आलिताल गाउँपालिका–७ स्थित भालुखोलामा पुल नहुँदा विद्यार्थीहरू ज्यान जोखिममा राखेर विद्यालय आउन जान बाध्य छन् । परशुराम नगरपालिका–११ र आलिताल गाउँपालिका–७ का विद्यार्थीहरू भालुखोला तरेर ज्यान जोखिममा राखेर खिन्नेभाडीस्थित महादेव माविमा अध्ययन गर्न बाध्य छन् ।

खोलामा उच्च बाढी आउँदा पुल नहुँदा विद्यार्थी विद्यालय आउनबाट वञ्चित हुने गरेको शिक्षक रमेश बोहराले बताउनु भयो । उहाँका अनुसार उक्त खोला तरेर भट्टेनी, उत्तरखेड, जबने गाडा, सिमलबन्ड, कराले, नाराङ्गा, कटौजा र सुवाखानका विद्यार्थी विद्यालय आउनेगरेका छन् । पुल निर्माणका लागि पटकपटक गाउँपालिका र नेताहरूलाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको शिक्षक बोहराले बताउनु भयो ।

photo20240816dadeldhura (1)

पुल नहुँदा वर्षातमा विद्यालय जान निकै समस्या हुने गरेको विद्यार्थी रमेश थापाले गुनासो गर्नु भयो । खोला तरेर जानु पर्छ, विद्यालय पुग्दा लत्ताकपडा मात्रै होइन किताब, कापी भिजेर पढ्न नै समस्या हुन्छ । उहाँले भन्नु भयो, ‘ठूला कक्षाका विद्यार्थी आफै तर्छन् । स–साना बालबालिकालाई खोला तराउन अभिभावक नै आउनु पर्छ ।’

पुल निर्माण नहुँदा विद्यार्थीहरु वर्षायामको समय धेरै दिनसम्म विद्यालय जानबाट वञ्चित हुनुपरेको अभिभावक आँसु भण्डारीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘यो यहाँका नागरिकको पीडा हो । कुनै नेताले बनाएनन् भनेर भन्दा राजनीतिक पूर्वग्रही भइ भन्छन् । तर, पीडा त त्यति बेला हुन्छ जतिबेला दिदीबहिनी कपडा भिजाएर खोला तर्छन् ।’

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पर्याप्त बजेट नहुँदा पुल निर्माण गर्न नसकिएको  र बालबालिका तथा स्थानीयहरुले सस्ती खेप्नुपरेको बताउनु भयो ।

तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेरै ध्यानाकर्षण गराएको भए पनि सुनवाइ हुन नसकेकोले पुनः प्रदेश र संघीय सरकारसँग पुल निर्माणका लागि पहल भइरहेको उहाँले बताउनु भयो ।

photo20240816dadeldhura (2)

अन्य

भिडियो