INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकालाई लागु औषध भरियाका रूपमा प्रयोग गरिँदै

बालबालिकासम्बन्धी ऐन, २०७५ को बुँदा ३६ मा भएको सजाय सम्बन्धी व्यवस्था अनुसार बालबालिकाको उमेर १० वर्षभन्दा कम भए निज उपर कुनै प्रकारको मुद्दा चलाइने र निजलाई कुनै किसिमको सजाय नहुने व्यवस्था छ ।

मुलुकी अपराधसंहिताको दफा ४५ मा कानुन बमोजिम कसुर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन भनि व्यवस्था गरिएको छ ।

कानुनले १० वर्ष मुनिका बालबालिकालाई सजाय नदिँदाको फाइदा उठाउँदै जिल्लामा लागुऔषध तस्कर तथा कारोबारीहरूले १० वर्ष मुनि बालबालिकालाई लागुऔषध भरियाका रूपमा प्रयोग गर्दै आएको पाइएको छ ।

जसका कारण लागुऔषध प्रयोग र कारोबारमा बालबालिका फस्न थालेपछि अभिभावकलाई चिन्ता बढेको छ । लागुऔषध बालबालिकाबाट सहजै ओसारपसार गर्न सकिने हुँदा कारोबारीले बालबालिकालाई प्रयोग गर्ने गरेका छन् । १० देखि १६ वर्षसम्मका बालबालिकालाई लागुऔषध कारोबारीले भरियाका रूपमा प्रयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालले बताउनु भयो ।

बालबालिकालाई चेकजाँच कम हुनेहुँदा लागुऔषध कारोबारीले बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्दै आएका छन् । ‘पहिला कारोबारी आफैँले लागुऔषध ओसारपसार गरेको भटिन्थ्यो ।’ एसपी प्रभुप्रसाद ढकालले भन्नुभयो, ‘प्रहरीको सक्रियतामा उनीहरू धमाधम प्रक्राउ पर्न थालेपछि बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरेका छन् ।’ क्रियाकलापका आधारमा अहिले बालबालिकालाई पनि चेकजाँच गर्न थालेको उहाँको भनाइ छ ।

भारतीय खुल्ला सीमाका कारण इलामको मुख्य समस्या लागुऔषध बनिरहेको प्रहरीको भनाई छ । गत आर्थिक वर्षमा २०८०-०८१ को एक बर्ष अवधिमा लागुऔषधका १८ मुद्दा दर्ता भएको प्रहरीसँग तथ्याङ्क छ । सोही प्रकतिको मुद्धा अघिल्लो वर्ष १४ ओटा थिए । एसपी ढकालले लागुऔषध नियन्त्रणलाई प्रहरीले प्राथमिकता दिएको बताउनुभयो । ‘हामीले लागुऔषध नियन्त्रणका लागि चाहिँ अभियानै सञ्चालन गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘अहिले मुख्य समस्या नै लागुऔषध भएको छ ।’

सूर्योदय नगरपालिका–१० स्थित फिक्कल नमुना माद्यमिक विद्यालयका प्रधानाध्यापक गंगा बहादुर महतले सहरी क्षेत्रमा गोप्य कारोबार बढी मौलाएका कारण यहाँका बालबालिकालाई फसाउने गरिएको बताउनुभयो । ‘विद्यालयमा ईमान्दार देखिने बच्चा छुट्टिपछि घर नपुग्दासम्म र बिहान घरबाट विद्यालय नआउँदासम्म कसैको निगरानी नहुने कारण पनि विग्रीरहेको पाईएको छ ।’ प्रधानाध्यापक महतले भन्नुभयो,‘घरमा अभिभावकको र विद्यालयमा शिक्षकको डरले मात्र कतिपय बालबालिका जोग्गिएका छन् । प्रविधिको बड्दो दुरुपयोग र गलत व्यक्तिहरुको संगतले उनिहरुमा लागुऔषधको प्रयोग धेरै भईरहेको छ ।’

इलाम नगरपालिका वडा ६, ८, ९, १२, माई नगरपालिका १, ७, चुलाचुली गाउँपालिका १, ३, ४, सूर्योदय नगरपालिका ५ र ६ लगायत क्षेत्रमा लागुऔषध प्रयोग र कारोबार देखिएको प्रहरीको भनाइ छ । ‘लागुऔषध प्रयोगमा १० बर्षदेखि १६ बर्षसम्मका बालबालिका फस्ने गरेको पाईएको छ भने कारोबार सहितको प्रयोगमा १९ देखि ३० वर्षसम्मका युवा बढी देखिन्छन्,’ एसपी ढकालले भन्नुभयो, ‘यसको नियन्त्रणका लागि नेपाल-भारत सीमा नाकामा आउजाउ गर्ने मानिस र सवारी साधनको चेकजाँच बढाइएको छ । स्कुल र गाउँटोलमा पनि जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं ।’

लागुऔषध नियन्त्रण गर्न प्रहरी इलामभरि विशेष अभियानका साथ लागेको छ । पछिल्लो समय युवापुस्ताको रोजाइमा रहेको लागुऔषध कारोबार र सेवन गर्न नेपाल सरकारले प्रतिबन्ध  लगाएको छ ।  लागुऔषध सेवन तथा कारोबारमा संलग्न हुने १० वर्ष मुनिकालाई सजाय दिन मिल्दैन। १० देखि १६ वर्षसम्मका बालबालिकालाई सजाय तोकेर सुधार गृहमा राख्ने गरिएको प्रहरीले बताएको छ ।

‘नचिनेको मान्छेले बच्चालाई एक ठाउँबाट अर्काे ठाउँमा समान लिन पठाउँछन्,’ बालअधिकारकर्मी सुमन अधिकारीले भन्नुभयो, ‘उक्त समान पहिचान नगरी समान उठाउँदा त्यो लागुऔषध भएको देखिन्छ । र, बालबालिका फस्छन् ।’ यसरी पनि बालबालिका र महिलालाई लागुऔषध कारोबारीले प्रयोग गर्ने गरेका छन् । केहीलाई भने पैसाको लोभलालचमा फसाएर भरिया बनाउने गरिएको छ ।

सूर्योदय नगर बाल सञ्जाल समितिका पूर्व अध्यक्ष निरोज चाम्लिङ राईले लागुऔषध कारोबार सम्बन्धी विद्यालय स्तरदेखि अभिभावकसम्म अभियान सञ्चालन गर्नु पर्ने बताउनुभयो । लागुऔषध कारोबारमा बालबालिका प्रयोग गर्नु दुर्भाग्य भएको भन्दै भोलिका कर्णधारलाई अहिले नै सभ्य र अनुशासित बनाउनु पर्ने बताउँनुहुन्छ । ‘केही साथिहरु आफैँ सेवन गर्ने र भरियाका रूपमा काम गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘केही भने पैसा कमाउने उद्देश्य राखेको देखिन्छ ।’ स्थानीय सरकार र प्रशासन जवाफदेही भएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

महिला तथा बालबालिकामा यसको चेतना फैलाउनु पर्ने महिला र बालबालिका अधिकारकर्मीहरू बताउँछन् । नचिनेको मान्छेले दिएको समानको पहिचान गर्नुपर्ने, यात्रा गर्दा आफ्नो समानको सुरक्षा गर्नु, अर्काले देखाएका लोभलालचमा नपर्नेजस्ता काम गर्दा पनि लागूऔषध कारोबारीबाट बच्न सकिने महिला अधिकारकर्मी गायत्रा थेगिमले बताउनुभयो । कानुनी ज्ञान नहुँदा पनि महिला तथा बालबालिका लागुऔषध कारोबारमा संलग्न भएको उहाँको भनाइ छ । बालबालिकापछि लागुऔषध कारोबारीले महिलालाई पनि प्रयोग गर्ने गरेका हुन् । महिलामा हुने इमान्दारीताको फाइदा उठाउँदै उनीहरूले महिलालाई प्रयोग गर्ने गरेका छन् ।

अपराध, नियन्त्रण र कानुनी सचेतनाका लागि एक वर्षको अवधिमा इलाम जिल्लाका विभिन्न स्थानमा एक हजार तीन सय ७५ कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यसमा रेडियो कार्यक्रम, चेतनामूलक अभियानलगायत छन् ।

अन्य

भिडियो