साल्पासिलिछो गाउँपालिकामा पर्ने इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा स्थानीयको जनजीवन कष्टकर भएको छ ।
बाढीका कारण मुख्यमुख्य सकड भत्किएपछि एम्बुलेन्स सञ्चालन र बालबालिकालाई विद्यालय आउनजान सबैभन्दा बढी समस्या भएको छ ।
बाढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडकसँगै विभिन्न संरचना ०८१ साउन १६ गते बगाउँदा स्थानीयको जनजीवन कष्टकर भएको हो ।
बाढीले साल्पासिलिछो गाउँपालिका-१ मा रहेको गौडेनी पुल, वडा-३ मा पर्ने इर्खुवा खोला लघु जल विद्युत आयोजना, वडा-५ र ६ को दोभाने फेदी सडकमा र भमला ढाँडगाँउ पुलमा क्षति भएपछि स्थानीयको जनजीवन कष्टकर भएको हो । बाढीले साल्पासिलिछो गाउँपालिका-४ मा निर्माणधीन याक्सा नागदह मोटरेवल पक्की पुलमा समेत क्षति पुर्याएपछि आतवजावतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।
बाढीका कारण साल्पासिलिछो गाउँपालिका-६ मा सवै भन्दा बढी परिवार विस्तापित भएका छन् । यहाँका विस्तापित परिवारको तथ्याङ्क सङ्कलनको काम भइरहेको वडा कार्यालयले जनाएको छ । साउनको तेस्रो सातासम्ममा साल्पासिलिछो गाउँपालिका-४ मा ६ घर परिवार, वडा-३ र ५ मा एक-एक परिवार विस्तापित भएको गाउँपालिकाले जनाएको छ । बाढीले सडकसँगै विभिन्न संरचनामा क्षति पुर्याउँदा गाउँपालिकाबासीको जनजीवन भएको प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले बताउनु भयो । बाढीले अन्य भौतिक संरचनासँगै सडक, पुलमा क्षति पुगेपछि आवतजावतमा समस्या भएको अधिकृत काफ्लेको भनाइ छ ।
“केही समयअघि आएको बाढीको कारण यहाँका धेरै संरचनामा क्षति पुगेको अवस्था छ ” प्रशासकीय अधिकृत काफ्लेले भन्नुभयो, “मुख्य रूपमा सडक, पुलमा क्षति पुग्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । बाढीले सडक बगाउँदा आवतजावतसँगै खाद्यान्न ढुवानीमा समस्या छ ।” बाढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक सडक बगाउँदा ५ करोड रुपियाँ बराबरको क्षति पुगेको अधिकृत काफ्लेको भनाइ छ ।
बाढीका कारण क्षति पुगेका संरचनाको पुनः निर्माण तथा मर्मत गरेर चाँडो सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीय गजेन्द्र राईले बताउनु भयो । बाढीले सडक अवरोध हुँदा ग्रामीण भेगको जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको उहाँको भनाइ छ । स्थानीय राईले भन्नुभयो “बाढीले सडक,पुल तथा घोरेटो बाटो समेत बगाएको छ, हाम्रा बालबालिकाहरुलाई विद्यालय आवत जावतमा समेत समस्या छ । विद्यालय गएको बच्चा कतिवेला फर्कने हो टुङगो छैन । यसमा सम्वन्धित निकायको ध्यान जान आवश्यक छ ।”
सडक तथा पुलमा क्षति भएकाले यातायात बन्द हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको स्थानीय दीलिप राईंले बताउनु भयो । “गाउँपालिकाबाट बाहिर जाने सबै सडकहरू बन्द भएका छन् । हिँडेर जाने सम्म अवस्था छैन, राईले भन्नुभयो । साल्पासिलिछो गाउँपालिका-६ मा बाढीका कारण विद्युत सेवा अवरूद्ध भएको तीनसाता बितेपनि मर्मतको काम हुन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई गाउँपालिका केन्द्र चौकी डाँडासँगै भोजपुर सदरमुकाम तथा बाह्य जिल्ला आवतजावत गर्ने मुख्य तीन ओटै सडकको सबै नाका बन्द भएको गाउँपालिका अध्यक्ष दौलत कुलुङले बताउनु भयो । गाउँपालिकाको बजेटमा यहाँ क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न सम्भव नरहेको अध्यक्ष कुलुङले बताउनु भयो । धेरै क्षति पुगेका मुख्य मुख्य संरचनाहरूको मर्मत तथा पुनः निर्माणको लागि अनुमानित १० करोड रुपियाँ बढी आवश्यक हुने गाउँपालिका अध्यक्ष कलुङको भनाइ छ ।
“इर्खुवा खोलामा आएको बाढीले यहाँका धेरै संरचनामा ठूलो क्षति पुगेको छ” अध्यक्ष कुलुङले भन्नुभयो,“ क्षतिग्रस्त संरचनाको तत्कालीन रूपमा पुनः निर्माणको लागि १० करोड रुपियाँ खर्च हुने देखिएको छ । कार्यापालिकाको बैठक बसेर मुख्यमुख्य संरचनाहरूको पुनः निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेर बजेटको लागि आवश्यक पहल गरिरहेका छौँ ।”
गाउँपालिकाले सडक सुचारू गरेर स्थानीयको जनजीवन सहज बनाउन आवश्यक कामसँगै पहल गरिरहेको उहाँको भनाइ छ । धेरै स्थानका सडकमा क्षति पुगेकोले सबै सडकलाई एक साथ सञ्चालनमा ल्याउन भने समस्या रहेको गाउँपालिका अध्यक्ष दौलत कुलङको भनाइ छ ।






