१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई २४ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेलको ०८१ साउन २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ क्षतिपूर्ति र १ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८० असार २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० साउन ४ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन २८ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको साउन २९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०८० साउन ४ गते गरिएको थियो ।