सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता भएको राससले जनाएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन कात्तिक ७ गते दर्ता गरेका हुन् ।
निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको सजाय गर्न माग गरिएको छ ।
साथै, ढुङ्गेललाई गिरफ्तार गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठन गर्न आदेशको माग गरिएको छ ।
सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ ।