INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

सैनामैना नगरपालिका–१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विद्यालयका शिक्षक कमल भण्डारीले सात कक्षामा अध्ययनरत ११ वर्षीय बालकलाई निर्धात रूपमा कुटपिट गरेका छन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–९, गोखुङ्गा स्थायी घरभई दुई वर्ष अगाडि सैनामैना नगरपालिका–२, सरौली बस्ने ११ वर्षीय बालक दुई वर्षदेखि सो विद्यालयमा अध्ययन गर्दै आउनुभएको छ । विद्यालयमा साउन १८ गते बिहान १० बजे अध्ययनका लागि विद्यालय जानुभएका बालक कम्प्युटर शिक्षक कमल भण्डारीले ५४ जना विद्यार्थीको बिचमा कालो पाइपले कुटपिट गरेको पीडित बालकले बताउनु भयो ।

विद्यालयका कम्युटर शिक्षक भण्डारीको कुटपिटबाट बालकको खुट्टाको साँप्रो, कुम र शरीरका विभिन्न भागमा निलडाम रहेका छन् । प्लाष्टिकको पाइपले २५ पटकसम्म कुटेर छोरालाई चल्न नसक्ने अवस्थामा पुर्‍याएको बालकको आमाले इन्सेकलाई जानकारी दिनुभयो । बालकको अन्य शरीरका अङ्गमा पनि निल डाम रहेको छ । कुटपिटबाट बालकको साँप्रो सुन्निएको छ । पीडितको आमाले पढ्न पठाएको छोरालाई यसरी मरणसन्न हुनेगरी कुटपिट गरको प्रति दुखद् व्यक्त गर्दै छोरालाई कुट्ने शिक्षकलाई के कारवाही गर्नुपर्छ सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले विद्यार्थीलाई कुटपिट गरेको भन्ने विषय आफूले सामाजिक सञ्जाल मार्फत जानकारी पाएको र सो विषयमा विद्यालयका प्रधानाध्यापक नेत्र पुरीसँग फोन मार्फत सोधपुछ गर्ने काम भएको र प्रधानाध्यापकले घटना भएको स्वीकार गरेको बताउनु भयो । शाखा प्रमुख बेल्बासेले बालबालिकालाई यातना रहित अध्यापन गराउने विषयमा पटक पटक विद्यालयहरूलाई भन्ने गरेको र तालिम तथा बैठकहरूमा पनि निर्देशन दिँदै आएको बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिनका लागि र पीडित बालकलाई न्यायको प्रत्याभूत गराउने गरी कसरी अगाडि बढ्न सकिन्छ, सो विषयमा छलफल भइरहेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, मुर्गीयाका इन्स्पेक्टर प्रदिप पौडेलले घटनाका विषयमा बजारतिर हल्ला सुनेको तर घटनाको विषयलाई लिएर पीडितको उजुरी नआएको र उजुरी आए तत्काल नियन्त्रणमा लिइ कारवाही अगाडि बढाइने बताउनु भयो । उहाँले पीडित पक्ष अहिलेसम्म नआएको उल्लेख गर्नुभयो । उजुरी आए घटनाबारे अनुसन्धान हुने, कानुनी उपचार हुने र पीडितलाई पनि परामर्श गर्ने इन्स्पेक्टर पाण्डेले बताउनु भयो ।

मानव अधिकारकर्मी गोविन्द खनालले शिक्षामा यातनाको कल्पना गर्न नसकिने बताउनु भयो । विद्यार्थीलाई यातना दिने कार्यमा संलग्न शिक्षकलाई बर्खास्त गर्ने र पीडितलाई न्याय सहित भयरहित वातावरणमा पढ्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । विद्यालय शान्ति क्षेत्र हुन भन्ने वातावरणको अनुभूति गराउनुपर्ने उहाँको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले कुनै पनि विद्यालयमा शारीरिक तथा मानसिक यातना दिने कुरा निरुत्साहित गर्न विद्यालयका प्रधानाध्यापकको बैठकमा, तालिम तथा छलफल र अन्तरक्रिया कार्यक्रममा राख्ने गरेको बताउँदै यस्ता घटना घट्नु दुखद् भएको बताउनु भयो । यो विषयमा सञ्चार माध्यमबाट जानकारी भएको र विद्यालयलाई के कसो भएको भन्ने विषयमा जानकारी लिने काम गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीमैत्री वातावरण तय गर्नुको सट्टा अहिलेको जमानामा यस्ता घटना घट्नु राम्रो सन्देश नभएको भन्दै आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिउन् भन्नका लागि बालमैत्री वातावरण तय गर्नुपर्ने बताउनु भयो ।

विद्यालयका प्रध्यानाध्यापक नेत्र पुरीले घटना दुखद् भएको स्वीकार गर्दै कम्प्युटर शिक्षक कमल भण्डारीले ट्युशन कक्षामा नआएको भन्दै कुटपिट गरेको भन्ने अभिभावकले फोन गरेर जानकारी पाएको र अभिभावक र बालकलाई विद्यालयमै बोलाएर घटनाका विषयमा जानकारी लिएको बताउनु भयो । घटनाका विषयमा विद्यालय गम्भीर भएको भन्दै अभिभावकले अलिक डर देखाउनु पर्‍यो भनेका कारण विद्यालय व्यवस्थापन समितिको बैठक बसेर घटनाका विषयमा के गर्ने तुरुन्तै निर्णय गर्ने बताउनु भयो । आरोपित शिक्षक नीजि श्रोतबाट अध्यापन गराउने कम्प्युटर शिक्षक भएको बताउनु भयो ।

बाल अधिकारको क्षेत्रमा लामो समय काम गर्नुभएका अधिकारकर्मी तथा अनुसन्धानकर्ता मधु दवाडीले अहिलेको अवस्थामा पनि विद्यार्थी कुट्ने भनेको अयोग्य शिक्षक भएकोले यस्ता शिक्षकलाई स्थानीय सरकारले तुरुन्तै कारवाही गर्नुपर्ने बताउनु भयो । उहाँले पढ्नु र बुझ्नु फरक कुरा भएकोले यस्ता विषयमा शिक्षकहरूलाई बेला बेलामा यस्ता विषयमा सचेतीकरण गर्दै लैजानुपर्ने बताउनु भयो । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा एक वर्षसम्म कैद सजाय र ५० हजार रुपियाँ जरिबाना हुने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

Photo04082024Rupandehi

Photo04082024Rupandehi1

अन्य

भिडियो