विद्यालय भवनहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरू अहिले पनि विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । विद्यालय जाने समय उनीहरूले आँगन पिँढीमै बिताउने गरेका छन् । पाल्पामा ४ सय ४० ओटा सामुदायिक विद्यालयमध्ये २ सय विद्यालयका भवनमात्रै अपाङ्गमैत्री रहेको शिक्षा विकास तथा समन्वय इकाई, पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनु भयो । अधिकांश विद्यालय भवनहरू अग्लो स्थानमा रहेको र पुराना भवनहरू बनाउने क्रममा अपाङ्गमैत्री सोँच नदेखिएका कारण समस्या भएको उहाँले बताउनु भयो । उहाँले अहिले बन्दै गरेका विद्यालय भवनहरूलाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको बताउनु भयो ।
जिल्लामा अहिले पनि विद्यालय उमेर समूहका चार प्रतिशत बालबालिकाहरू विद्यालय पहुँचभन्दा टाढा रहेको तथ्याङ्क रहेको सुवेदीले बताउनु भयो । यी मध्ये अधिकांश अपाङ्गता भएका बालबालिकाहरू रहेको उहाँले बताउनु भयो । अपाङ्गतामैत्री विद्यालय र नियमित फिजियोथेरापीको अभावमा जिल्लाभरका गरी ३ सयभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरू आँगन र पिँढीमा मात्रै सिमित हुनुपरेको अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनु भयो । ‘जन्मजात वा जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिँढीमै सिमित भएका छन्’, उहाँले भन्नुभयो ।
आफ्नो छिमेकमा अपाङ्गमैत्री विद्यालय नहुँदा आफ्ना १८ वर्षीय र १३ वर्षीय अपाङ्गता भएका छोराहरू शिक्षाको अधिकारबाट वञ्चित हुनुपरेको बगनासकाली गाउँपालिका–८, बराङ्दीका यज्ञप्रसाद पाण्डेले बताउनु भयो । उहाँका छोराहरू दामोद र ऋषिराम न स्कुल जान्छन् न त घरमा नै पढ्छन् । दामोदर र ऋषिराम दुबै मानसिक तथा शारीरिक रुपले अपाङ्ग हुन् । उनीहरू दुवै बोल्न सक्दैनन् । घरका सदस्य बाहेक अरुलाई चिन्दैनन् । कानले सुन्छन् तर कुनै हाउभाउबाट पनि कुनै प्रतिक्रिया दिँदैनन् । तर कहिले काहीँ धेरै खुशी हुँदा र दुःखी हुँदा भने प्रतिक्रिया जनाउँछन् । तत्कालै कुनै बेला अर्काको घरमा गएर केही बिगार गर्ने डरले एक जना कुरुवा बस्नैपर्ने पाण्डेले भन्नुभयो ।
नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक र धारा ३९ मा बालबालिकाको हक रहे पनि उनीहरूले यी कुनै पनि हकको राम्रो गरी उपयोग गर्न पाएका छैनन् । धारा ३१ को शिक्षाको हक अन्तर्गत अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ । त्यस्तै दृष्टिबिहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चित गरिएको छ । पाल्पामा सरकारी स्तरबाटै दृष्टि विहीन बालबालिकाहरूका लागि दमकडा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । त्यस्तै कान नसुन्ने बालबालिकाहरूका लागि पप मावि र भवानी माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । तर अति अपाङ्गता भएका बालबालिकाहरूका लागि भने सरकारी रूपमा कुनै पनि विद्यालय तथा फिजियोथेरापी सेवा छैन ।