INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिना वितिसक्दा समेत शिक्षक पदपुर्ति नहुँदा पठनपाठनमा समस्या

अमरगढी नगरपालिका–८ बागचौरस्थित भूमिराज प्राथमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा कार्यरत शिक्षक मिनबहादुर गैरालको गत वैशाख २३ गते अनिवार्य अवकाश भए पश्चात् उहाँको ठाउँमा दरबन्दी रिक्त रहदा पठनपाठनमा समस्या आएको हो ।

शिक्षक पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिले आह्वान गरेको सूचनामा विद्यालय व्यवस्थापन समितको ०८१ शाख ३१ गते बसेको बैठकले पाँच जना निवेदक मध्ये अजयमेरु गाउँपालिका–२ हाटस्थित समैजी प्राविमा कार्यरत शिक्षक केशवराज भट्टलाई सरुवा सहमति दिने निर्णय गरेको भए पनि अमरगढी नगरपालिकामा जेठ ७ गते पठाइएको फाइल नगरपालिकाले स्विकृत नदिएपछि विद्यालयको पठनपाठनमा समस्या उत्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती ओझाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पटकपटक नगरपालिकामा जाँदा समेत कुनै सुनुवाइ भएको छैन् । शिक्षा शाखा प्रमुख हेमन्त पन्ले सरुवा मिलानका क्रममा रहेकोले केही दिन लाग्ने बताउनु भयो । अहिले आएर अब हुदैन करारकाल लागि आवेदन खोल्नुस् भन्नु भएको छ । नियम अनुसार शिक्षक मिलानको काम गरिएको भए पनि नगपालिकाले व्यस्थापन समितिको निर्णय नमस्दा पठनपाठनमा समस्या भएको हो ।’

नगरपालिकाले शिक्षक नपठाउँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक यज्ञराज गिरीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘सबै कक्षाकोठामा सिमित शिक्षकले पढाउनु पर्दा ४५ मिनेटको कक्षामा १५ मिनेट पढाउनु पर्छ ।  नेपाली विषयका विषय शिक्षक नहुँदा पढाईनै भएको छैन् ।’

विद्यालयमा हाल ७६ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने तीन जनाको स्थायी दरबन्दी रहेकोमा दुई जना शिक्षक कार्यरत छन् । बालविकासमा दुई र एक जना नीजि गरेर पाँच जना शिक्षक कार्यरत रहेका छन् ।

प्रधानध्यपक गिरीका अनुसार शिक्षक पदपूर्तिका लागि सूचना आह्वान नगर्न र करार खोल्न नगरप्रमुख डिल्लीराज जोशीले दबाब दिनुभएको थियो । तर, विद्यालयले विद्यालयमा आउन चाहने शिक्षकलाई जानकारी दिनका लागि सूचना आह्वान गरेको बताउनु भयो ।

नगरपालिकाका कर्मचारी र केही जनप्रतिनिधिको स्वार्थका कारण नगरपालिकाले विद्यालयमा शिक्षक नपठाएर करार खोल्न आफूहरूलाई दबाब दिइरहेको विद्यालय व्ववस्थापन समितिका सदस्य तुलाराम सार्कीले बताउनु भयो ।

साउन ७ गतेदेखि शिक्षक पठाइदिन माग गर्दै शिक्षक, अभिभावक र विद्यार्थीले नगरपालिका समेत घेराउ गरेको भए पनि नगरपालिकाले सुनवाई नगरेको उहाँले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिले निर्णय गरी शिक्षकको स्विकृत माग गरेको भए पनि शिक्षक सरुवाका सन्दर्भमा प्रष्ट कानुनी व्यवस्था नभएका कारण समस्या समाधान गर्न नसकिएको शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीचको विबादका कारण शिक्षक पदपुर्ति हुन नसकेपछि विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ ।

अन्य

भिडियो