INSEC Online

📅 २०८३ जेष्ठ २१

रुपन्देहीका २० प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या

रुपन्देहीमा २० प्रतिशत किशोरीहरूमा रक्त अल्पताको समस्या देखिएको छ । वर्षौँदेखि निःशुल्क आइरन चक्की खुवाउँदै आए पनि २० प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको हो । सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत १२ वर्ष देखि १९ वर्ष उमेर समूहका किशोरीहरूको रगत परीक्षण गर्दा यस्तो तथ्य आएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालयले आर्थिक वर्ष ०८०/८१ जिल्लाका १६ स्थानीय तहका ६ हजार १ सय ५६ जनाको रक्त परीक्षण गर्दा १ हजार १ सय ८५ जना बालिकामा रक्त अल्पताको मध्यम खालको समस्या देखिएको र ४८ जना बालिकामा कडा खालको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन रिशव श्रेष्ठले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका-१२, शहरी स्वास्थ्य व्यवस्थापन केन्द्रका मेडिकल अधिकृत डा. अशोक पाण्डेले मानव शरीरमा ११ ग्रामभन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो व्यक्तिलाई रक्त अल्पताको समस्यामा रहने बताउनु भयो । खानामा आइरन र फोलिक एसिडको मात्रा कम भएमा मेगालोक्लाष्टिक एनिमिया हुने र खानामा कमी भएमा र महिनावारीको समयमा धेरै रगत बगेमा सिक्लेक्स आइरन र भिटामिनको कमी हुने र आइरन डिफेसेन्सी हुने भएकोले पौष्टिक खाना र खानामा भिटामिन र फोलिक एसिड भएको खाना प्रशस्त खाने गरेमा यो रोगबाट बच्न सकिने बताउनु भयो ।

शरीरमा रगतको मात्रा हेमोग्लोबिनको कमी भयो भने रक्त अल्पता रोग लाग्ने भन्दै सरकारले रक्त अल्पताबाट बचाउन १२ वर्षदेखि १९ वर्षसम्मका किशोरीहरूलाई आइरन चक्की निःशुल्क खुवाउने गरिएको छ । वर्षौँदेखि आइरन चक्की निःशुल्क बाँडिए पनि जिल्लामा रक्त अल्पताका रोगीको सङ्ख्यामा कमी नआएको हो ।

सन् २०११ मा भने ३५ प्रतिशत थियो । १५ देखि ४९ वर्षका सुत्केरी, गर्भवती महिला तथा ६ महिनादेखि ५९ महिनाको बालबालिकाहरूमा रक्त अल्पताको समस्या देखिएको छ । कुपोषण र रक्त अल्पताको अवस्थामा सुधार ल्याउन जिल्लामा १० वर्ष यता एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम समेत सञ्चालित छ । सरकारी कार्यालय सहित विभिन्न निकायले एकीकृत पोषणका नाममा करोडौँ रुपियाँ खर्चेका छन् ।

स्वास्थ्य कार्यालयले समेत पोषण कार्यक्रममा वर्षौँदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जिल्लामा लगानी अनुसार प्रतिफल नआउनु दुखको कुरा भएको बताउनु भयो । पोषण र रक्त अल्पताको समस्यालाई समाधान गर्न ठूलो चुनौती आएको उहाँले भन्नुभयो । शरीरमा आवश्यक पर्ने रगतको मात्रा हेमोग्लोविन कम भएपछि रक्त अल्पताका रोगी हुने गरेको ढकालको भनाई छ ।

रक्त अल्पताको समस्यालाई हटाउन जिल्लाभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा आइरन चक्की बाँडिने गरिएको छ । आइरन चक्की नखाएर मात्र होइन नियमित पोषिलो खानेकुरा नखाइएको कारण यस्तो समस्या देखिएको स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख ढकालले बताउनु भयो । चेतनाको अभाव आनीबानी र व्यवहार परिवर्तन नुहँदा यो समस्या झनै जटिल बन्दै गएको छ । यस्तै करेसाबारी नहुनु, जङ्ग फुडको प्रयोग धेरै गर्नु, गरिबी, चेतना र शिक्षाको अभावले समेत रक्त अल्पताको रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण पोकल पर्सन कौशल भण्डारीले पोषण शिक्षा सञ्चालन गरिए पनि अझै रक्त अल्पता र कुपोषणको समस्या न्यूनीकरण हुन नसकेको बताउनु भयो । विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई सचेत बनाउन नसके यो समस्याको समाधान गर्न नसकिने भण्डारीले बताउनु भयो । उहाँले रक्त अल्पता र कुपोषणको कुचक्र हटाउन विद्यलाय र समुदायमा सचेतना फैलाउनु पर्ने अत्ति आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

अन्य

भिडियो