INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह घटनाका फरार आरोपित अदालतमा हाजिर

बालविवाह गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका ४६ वर्षीय पुरुष ०८१ साउन १३ गते अदालतमा हाजिर भएका छन् ।

जिल्ला अदालतमा हाजिर भएका आरोपित न्यायाधीश श्यामविहारी मौर्यको इजलासबाट साउन १३ गते नै १५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ ।

उनिमाथि आफ्नी १९ वर्षीया छोरीको १६ वर्षीय बालकसँग बालविवाह गराउन प्रयास गरेको आरोप छ । बालविवाह गराउन खोजेको आरोपमा नाबालक छोराको आमा सुरुङ्गा नगरपालिका-३ दौलतपुर विसनरियाकी ४२ वर्षीया महिला २०८१ असार ४ गते गिरफ्तार हुनुभएको थियो ।

खडक नगरपालिका-२ बेल्ही टोलस्थित माइतीघरबाट १६ वर्षीय बालक छोरालाई बेहुला बनाई बाजागाजासहित जन्ती पठाइरहेका बेला पुगेको प्रहरी टोलीले बालकको आमालाई गिरफ्तार गरेको थियो । जन्ती लिएर हिंडेका बेहुला बालक भने गिरफ्तारीको डरले फरार भएका छन् ।

आरोपितविरुद्ध सुरुङ्गा नगरपालिकाको कार्यालयका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत सबिन सिंह चौधरीले असार ५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको छ । सई मंगनु दासको प्रतिवेदनसमेतमा इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितहरूविरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला अदालतमा असार १८ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश दीपककुमार दाहालको इजलासले असार २० गते आरोपित बालकका आमा २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा हुनुभएको छ ।

अन्य

भिडियो