INSEC Online

📅 २०८३ जेष्ठ २१

सचेतना र सावधानीको अभावमा डेङ्गीका बिरामी बढ्दै

सचेतना र उचित सावधानीको अभावमा पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु भयो । यो वर्ष जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ८९ पुगेको छ । जसमा जिल्लाभित्रका ५० जना र अरु जिल्ला बाहिरबाट आएका नागरिक रहेको डा. गिरीले बताउनु भयो ।

विभिन्न स्थानीय तहहरूबाट तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत सङ्क्रमण देखिएको उहाँले बताउनु भयो । जनवरीदेखिको तथ्याङ्कमा पछिल्लो महिनामा सबैभन्दा धेरैमा सङ्क्रमण देखा परेको उहाँले बताउनु भयो । निजी स्वास्थ्य संस्थामा जाँच गराएका र घरमै बस्नेहरूको तथ्याङ्क यसमा समावेश नभएकोले पनि सङ्ख्या अझ बढी रहेको डा. गिरीले बताउनु भयो ।

स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत टिकाराम अधिकारीले डेङ्गी के हो र यसबाट कसरी बच्ने भन्नबारे जनचेतना बिस्तारको पहल गरिए पनि पूर्ण हुन नसकेको बताउनु भयो । अझै पनि नागरिकमा जनचेतनाको अभाव र चेतनशील नै भए पनि उचित सावधानी नभएकोले पनि डेङ्गी सङ्क्रमण बढ्दो रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो । परीक्षणको दायरा बढाइएको र अहिले घामपानीको मौसम भएकोले पनि लामखुट्टेको सङ्ख्या बढ्ने भएकोले डेङ्गीका बिरामी बढेको अधिकारीले बताउनु भयो ।

सङ्क्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने गरी सचेतना फैलाउने काम भइरहेको उहाँले बताउनु भयो । तर ती कार्यक्रमहरू उचित जनशक्ति र स्थानीय बासिन्दाहरूको पनि कम चासोका कारण टोलटोलसम्म पुर्‍याउन नसकिएको अधिकारीले बताउनु भयो ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गीको सङ्क्रमण भएमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने लगायतका लक्षण देखिने उहाँले बताउनु भयो ।

अन्य

भिडियो