कास्कीमा वर्षभरीमा ४ हजार ५ सय ६७ थान मुद्दा फर्स्याेट भएका छन् । जिम्मेवारी सरेका २ हजार २ सय ५० थान, नयाँ दर्ता भएका ४ हजार ९ सय ७६ थान गरी गत आवमा मुद्दाको लगत ७ हजार २ सय २६ थान थियो । अघिल्लो आवमा जिम्मेवारी सरेका २ हजार ४ सय ३७ थान र नयाँ दर्ता भएका ३ हजार ९ सय २७ गरी ६ हजार ३ सय ६४ थान मुद्दा थिए । गत वर्षका मध्ये १७ थान मुद्दा मात्र दुई वर्ष नाघेका छन् । बाँकी रहेका मुद्दा छिटो ताकेता गरी टुंग्याउने प्रक्रियामा अदालत लागेको स्रेस्तेदार रुद्रप्रसाद अर्यालले बताउनुभयो ।
कास्कीमा अघिल्लो आवमा भन्दा गत आवमा १ हजार ४९ थान बढी मुद्दा दर्ता भएका थिए । जिल्लामा मुद्दाको चाप बर्सेनि बढे पनि दरबन्दी भने एक दशक पुरानै छ । कास्कीमा आठ न्यायाधीशको दरबन्दी छ । तर हाल पाँच जना न्यायाधीश मात्रै छन् । केही न्यायाधीश बढुवा भएर उच्चमा गएको र जिल्ला न्यायाधीश नियुक्ति हुन बाँकी रहेकाले कास्कीमा तीन इजलास खाली छन् । स्रेस्तेदार अर्यालले भन्नुभयो, ‘खरिदार र नासु मात्र होइन, बेन्चमा बस्ने अधिकृतको पनि अभाव छ ।’ साँघुरो र पुरानो भवनका कारण काम गर्न निकै अप्ठेरो परेको उनले बताए ।