मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मीपुरका १३ जना विद्यार्थीहरू विद्यालयले उपलब्ध गराउँदै आएकाे दिवा खाजा खाँदा ०८१ साउन ६ गते बिरामी भएका छन् ।
दिवा खाजा भनी विद्यार्थीहरूका लागि साउन ७ गते बिहान विद्यालयमा पकाइएको खिचडी खाएपछि विद्यार्थीहरू बिरामी भएको र सोही दिन उपचारका लागि विद्यार्थीहरूलाई जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा भर्ना गरिएको प्रधानाध्यापक सत्यनारायण शाहले बताउनु भयो ।
खाजा खाएका विद्यार्थीहरूमा फुड पोइजन भएको रामा मेमोरियल अस्पतालका डाक्टर वृज यादवले जानकारी दिनुभयो ।
बिहानै पकाएको खाजा पनि बासी भएकोले कक्षा एकदेखि कक्षा सातसम्मका बालबालिकाहरू बिरामी भएको मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताउनु भयाे । खाजाको गुणस्तर परीक्षणका लागि खाजाको नमुना सम्बन्धित निकायमा पठाएको उहाँले जानकारी दिनु भयो ।
गुणस्तरहीन खाजा र पिउने पानि समेत दुषित रहेको बारे पटक पटक गुनासो गर्दै प्रधानाध्यापकलाई ध्यानाकर्षण गराएपनि उहाँले चासो नदिएको अभिभावक तथा स्थानीय सुरेन्द्र झाले बताउनु भयो ।
विद्यार्थीहरूको अवस्था सामान्य भएपछि साउन ७ गते नै उनीहरूलाई अभिभावकको जिम्मा लगाएर घर पठाएको डाक्टर यादवले बताउनु भयो ।