INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा ताला बन्दी भएपछि सेवाग्राहीलाई सास्ती

खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्रहीले सास्ती खेप्नु परेको छ ।

खार्पुनाथ गाउँपालिका–२ स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिले साउन ७ गते  गाउँमै रहेको बर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्राहीलाई समस्या भएको हो ।

विद्यालय व्यवस्थापन समितिले मनोमानी ढङ्गले बर्थिङ सेन्टरमा ताला लागाउदा दुई दिनदेखि करिब १० देखि १५ जनासम्म सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय लामा रावलले गुनासो गर्नुभयो ।

बिरामी भएर स्वास्थ्य संस्थामा पुगे पनि बर्थिङ सेन्टर लगायत स्वास्थ्य संस्थामा ताला लगाएका कारण औषधी नपाएर रित्तो हातमा घर फर्कनु परेको स्थानीय रावलले गुनासो गर्नुभयो ।

विद्यालयको खाली रहेको जग्गामा बर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको भए पनि ६ लाख ५० हजार रुपियाँ नपाएको रीसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकेश रावलको नेतृत्वमा गएको टोलीले ताला लगाएको सोही स्वास्थ्य संस्थाका प्रमुख विरसिंह रावलले जानकारी दिनुभयो ।

दुईदिनदेखि कार्यालय ताला बन्दी गरेका कारण सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको प्रमुख रावलको भनाइ छ ।  विद्यालयलाई उक्त रकम दिने भनी यस अघि नै निर्णय गरेर सहमति गरेपनि कार्यान्वय नभएर ठेकेदारले दिनु पर्ने रकम नदिएका कारण ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकेश रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिले आफूले पाउनु पर्ने रकम नपाएको भन्दै ताला लगाएको छ । पहिले नै दुई पक्ष सहमति भएपनि पाउनु पर्ने रकम माग गर्दा नदिएपछि ताला लगाइएको हो ।

उक्त विषयमा दुवै पक्षसँग छलफल गर्ने वडा नम्बर २ थालीका वडाध्यक्ष चन्द्र रावलले बताउनुभयो ।
Photo20240724Humla (1)

Photo20240724Humla (2)

 

 

 

अन्य

भिडियो