INSEC Online

📅 २०८३ जेष्ठ २१

उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका-४ इक्राहीकी ३८ वर्षीया जानकी मण्डलको हत्या घटनामा प्रहरीले किटानी उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित पक्षले विराटनगरमा ०८१ साउन ७ गते पत्रकार सम्मेलन गरी हत्या घटनाका आरोपित विराटनगर महानगरपालिका-४ इक्राहीका ४० वर्षीय पति दीलिप मण्डलविरूद्ध ०८१ जेठ ३० गते किटानी उजुरी दिँदा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडित पक्षको आरोप छ ।

आफूहरूले हत्या घटनाका आरोपितविरूद्ध किटानी उजुरी दिँदा सो उजुरी दर्ता नगरी प्रहरीले आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता गराएको मृतकका ७१ वर्षीय बाबु सुकदेव मण्डलले बताउनु भयो ।

घटनाका आरोपित दीलिप मण्डलले जानकीको ०८१ जेठ २९ गते कुटपिट गरी हत्या गरेको झुण्डिएर आत्महत्या गरेको भन्ने झुठो विवरण दिएको मृतकका बाबु सुकदेव मण्डलले बताउनु भयो ।

छोरीको कुटपिट गरी हत्या गरेको आफूहरूले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध किटानी उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरी आत्महत्या दुरूत्साहनमा उजुरी दिएको पीडित पक्षको भनाइ छ ।

आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता गरेपछि प्रहरीले आरोपितलाई ०८१ जेठ ३० गते गिरफ्तार गरेको पीडित पक्षले जनाएको छ । प्रहरीले हत्या घटनामा किटानी उजुरी दर्ता नगरेकाले आरोपितमाथि आत्महत्या दुरूत्साहन शीर्षकमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय असार २३ गते गरेसँगै आरोपितलाई प्रहरीले छाडिदिएको पीडित पक्षको भनाइ छ ।

प्रहरीले हत्या घटनामा किटानी उजुरी दर्ता नगरेकाले आफूहरूले न्याय नपाएको मृतकका ७१ वर्षीय बाबु सुकदेव मण्डलले बताउनु भयो । ज्वाईँले दोस्रो विवाह गर्न खोजेको र छोरीले अवरोध गरेपछि कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ ३१ गते गरिएको थियो । पीडित पक्षले जेठ ३१ गते शव बुझी विराटनगर महानगरपालिका-८ स्थित सिङ्घीया घाटमा सद्गत गरेको थियो ।

Photo 20240722 Morang

अन्य

भिडियो