INSEC Online

📅 २०८३ जेष्ठ २१

लघु जलविद्युत आयोजना बन्द भएपछि सेवाग्राही मर्कामा

जिल्लाकाे दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाले खारखोला लघु जलविद्युत आयोजना बन्द गर्ने निर्देशन दिएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।

विगत लामो समयदेखि सञ्चालनमा रहेको उक्त जलविद्युत साउन १ गतेदेखि गाउँपालिकाले विद्युत बन्द गर्न निर्देशन दिएपछि उक्त क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् ।

गाउँपालिकाले विद्युत नै बन्द गर्न लगाएपछि चंखेली गाउँपालिका–२ का करिब तीन सय घरपरिवार अन्धकारमा बस्नु परेको दार्मा गाउँका स्थानीय टिकाबहादुर शाहीले गुनासो गर्नुभयो ।

गाउँपालिकाले सोही जलविद्युत आयोजनामा कार्यरत कर्मचारीलाई काम नगर्न भनेपछि अनिश्चित समयका लागि बन्द गरिएको हो । सोही दिनदेखि उक्त आयोजना बन्द भएपछि यहाँका नागरिकलाई समस्यामा परेको खारखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष लाल प्रसाद जैसीले बताउनुभयो ।

हाल उक्त विधुत कार्यालयमा  तीन जना कर्मचारी कार्यरत हुनुका साथै तीनै जनाको तलब एक वर्षदेखि नपाएको र तलबका लागि गाउँपालिकासँग अनुरोध गर्दा गाउँपालिकासँग बजेट नभएकोले गाउँपालिकाले विधुत बन्द गर्न लगाएको अध्यक्ष जैसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्द गर्न भनेपछि विद्युत सेवा अहिले बन्द गरिएको उहाँले बताउनुभयो । जलविद्युतमा कार्यरत कर्मचारी हाल कोही काममा नखटिएको बताउनुभयो ।  वडा कार्यालय सहित आसपासका बस्तिका सेवाग्राहीले पुरानै सल्लाहको दियो बालेर अन्धकारमा रात कटाउनु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

उक्त विषयमा चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई बुझ्दा उहाँले आफू जिल्ला बहिर रहेकोले आफूलाई त्यो सम्बन्धी कुनै जानकारी नरहेको भन्दै इन्सेक जिल्ला प्रतिनिधिसँंग प्रतिकृया दिनु भयो ।

Photo20240721Humla (1)

Photo20240721Humla (2)

अन्य

भिडियो