रोल्पा जिल्लामा अवरुद्ध भएको टेलिफोन सेवा सुचारु नहुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ । जिल्लाभरी ०८१ साउन १ गतेदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई सास्ती भएको हो ।
पाँच दिनदेखि अवरुद्ध रहेको टेलिफोन र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भए पनि सुचारु गर्न प्रायस नगरिएको कारण आफूहरूले सास्ती खेप्नु परेको स्थानीय सेवाग्राहीहरूको भनाइ छ । अविरल वर्षाका कारण दाङ जिल्लाको भालुबाङ र लमही क्षेत्रको आसपासमा इन्टरनेट जडान गर्ने फाइवरमा समस्या आएकाले यस्तो समस्या आएको नेपाल टेलिकम रोल्पा कार्यालयका प्रमुख व्रिषभ उपाध्यायले जानकारी दिनुभयो । प्रमुख उपाध्यायले लाइन मर्मत गरेर सेवा प्रवाह गर्न पहल भइरहेको बताउनु भयो ।
पाँच दिनसम्म टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीहरू एवम् स्थानीयहरू सञ्चार सेवाबाट वञ्चित बनेका छन् । फाइवरमा समस्या आएपछि टेलिकमले वितरण गरेको ल्याण्डलाइन र फाइवर लाइनमा सेवा पूर्ण रूपमा बन्द भएका हुन् । नेटवर्कमा समस्या आउँदा टेलीफोन तथा मोवाइल सञ्चालनमा समेत समस्या देखिएको छ । टेलीफोन तथा इन्टरनेट सेवा बन्द हुँदा सञ्चारमाध्यम, सरकारी कार्यालय, निजी क्षेत्र र सर्वसाधारणहरू सूचना, सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ ।
यसअघि रोल्पामा चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा रोल्पा जिल्लाको अधिकांश स्थानीय तहका सेवाग्राहीले समस्या झेल्नु परेको थियो । विद्युत सेवा अवरुद्ध भएको चार दिन बितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण र स्थानीय सरकारले कुनै चासो नदेखाएका कारण आफूहरूले सास्ती खेप्नु परेको स्थानीयहरूले गुनासो गरेका थिए । जिल्लामा जेठ १९ गते आएको हावाहुरीले स्थानीय जल विद्युत ट्रान्समिटरमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत अवरुद्ध हुँदा साँझ बिहान घरायसी काम गर्न र बालबालिकाहरूको पढाइमा समेत समस्या भएको थियो ।