INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ महिनादेखि टेण्टमुनिबाट स्वास्थ्य सेवा प्रवाह, सेवाग्राहीलाई समस्या

गत वर्ष गएकाे भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रकाे आठ महिनादेखि टेण्टबाट सञ्चालित छ । भवन नहुँदा केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ । भवन पुननिर्माणका लागि तत्काल बजेटको अभाव रहेको, क्षति भएको भवन मर्मत गर्न नसक्नु र स्थानीयको घर भाँडामा लिन नसक्दा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र टेण्टबाटै सञ्चालन हुँदै आएको छ ।

वर्षाको बेला टेन्टबाट सेवा प्रवाह गर्नुपर्दा स्वास्थ्यकर्मीलाई सेवा दिन कठिनाइ भएको छ भने उपचार गर्न गएका बिरामी समेत प्रभावित हुँदै आएका छन् । टेण्टबाट सेवा सञ्चालन गर्नुपर्दा स्वास्थ्यकर्मीलाई औषधि र अन्य स्वास्थ्य उपकरण जोगाउन समेत कठिनाइ परिरहेको छ । केन्द्रका प्रमुख यज्ञबहादुर खड्काले आठ महिनादेखि टेण्टबाट सेवा प्रवाह गर्नुपर्दा असजिलो भएको बताउनुभयो ।

‘यही टेण्ट पनि हावाहुरीले प्वाल पारिसकेको छ, एउटा मात्रै टेण्ट छ, टेण्ट नै चुहिने भइसक्यो, अब फेरि अर्को टेण्ट मगाउने हो कि भवनको व्यवस्था हुने हो ? कुनै टुङ्गो छैन’ उहाँले भन्नुभयो । वर्षाको पानी टेण्टभित्रै छिरेपछि केन्द्रका लागि प्राप्त भएको औषधि भिजेर नष्ट भएको उहाँले बताउनुभयो । ‘टेन्ट भित्र तीन÷चार जना भन्दा बढी बस्न मिल्दैन, हिजोआज दैनिक हुने वर्षाले गर्दा बिरामी भिज्ने अवस्था छ, कोचाकोच बिरामी राखेर सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो ।

भूकम्पले भवनमा क्षति पुगेपछि अस्थायी रुपमा टेन्टबाट सेवा दिने व्यवस्था मिलाएपनि आवश्यक सामग्रीको अभावमा गर्भ परीक्षण सेवा समेत अवरुद्ध छ । ‘यही टेण्ट गाड्ने ठाउँसमेत समथर नभएकाले भिरालो जग्गामा राख्नुपरेको छ’ उहाँले भन्नुभयो ‘चिप्लो भएकाले चिप्लिएर लड्ने जोखिम पनि छ ।’ स्वास्थ्य भवनको बेलैमा मर्मतसम्भार नहुँदा टेण्टमुनिबाट सेवा लिन असहज भएको सेवाग्राहीहरुले गुनासाे गरेका छन् ।

Photo20240716Salyan

अन्य

भिडियो