६५ वर्षीय ज्येष्ठ नागरिक पुरुषलाई हत्या गरेको कसुरमा कञ्चनरूप नगरपालिका-१० बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई ०८१ असार ३० गते १० वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै १० वर्ष कैदका साथै फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रूपियाँ भर्नुपर्ने फैसला गरेको अदालतले जनाएको छ । फैसलामा पीडितको हकवाला कोही फेला नपरेकोले क्षतिपूर्तिका सम्बन्धमा केही गर्न नपरेको उल्लेख छ ।
आरोपितले २०८० असार ३१ गते विहान कञ्चनरूप नगरपालिका-८ स्थित बेरियर चोकमा रहेको बस विसौनीको प्रतिक्षालयमा बृद्धको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी बरिष्ठ हवल्दार धनिलाल साहले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा साउन ४ गते प्रतिवेदन बुझाउनु भएको थियो । प्रतिवेदनअनुसार आरोपितले बिडी खान मागेकोमा अपरिचित बृद्धले गालीगलौज गरेको रिसआवेशमा आई आरोपितले छेउमै रहेको बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
अदालतमा वयानका क्रममा आरोपितले हत्या गर्ने मनसाय नभएको र तत्काल उठेको रिसमा लाठी प्रहार गर्दा मृत्यु भएको भनेर साबिती वयान गरेका छन् । साबिती वयान गरेर हत्या स्विकारेको र कसुर गर्दाको परिस्थितीलाई मध्यनजर गरी अदालतले जन्मकैद सजायलाई १० वर्ष कैद मात्र तोकेको जनाएको छ ।
शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०८० साउन १ गते भएको थियो । आरोपित ०८० साउन ३ गते गिरफ्तार भएका थिए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० साउन ४ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा साउन १९ गते अभियोगपत्र दायर भएकोमा न्यायाधीश माधव प्रसाद सुवेदीको इजलासबाट आरोपित साउन २१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।