छत्रेश्वरी गाउँपालिका–६ लान्ती, सांघार, भोटेचौर र शारदा नगरपालिका–१३ सांघारका किसानले भर्खर रोपेको धानबालीमा फेद कुहिने रोगको प्रकोप बढ्दै गएको छ । रोगका कारण किसानले सय हेक्टर भन्दा बढी खेतमा लगाएको धानमा क्षति पुगेको छ । रोगको पहिचान र उपचारबारे जानकारी हुन सक्दा तीव्र रुपमा फैलँदै गएको छ । फेद कुहिने रोगका कारण दुई पालिकाका ५ सय बढी किसान प्रभावित भएका छन् । रोगका कारण खेतमा लगाएको धान धमाधम सुक्न थालेपछि किसान चिन्तित छन् । रोगको उपचारका लागि स्थानीय सरकार सँग माग गरेका छन् ।
रोपेको दुई साता नबित्दै फेद कुहिने रोगले गर्दा पाँच रोपनी जग्गामा लगाएको धान पहेलिँदै सुक्दै गएको छत्रेश्वरी–६ भोटेचौरका किसान लोकबहादुर थापाले बताउनुभयो । ‘रोपाई गर्दा त्यस्तो केही समस्या देखिएको थिएन, ब्याड राम्रै थियो, रोपेको दुई सातापछि एक्कासि पहेलिँदै गएपछि उखेलेर हेर्दा थाहा भयो’ उहाँले भन्नुभयो । धान सुक्न थालेपछि के खाने ? खाद्यान्नको समस्या हुने र भोकमरीले सताउने चिन्ता लागेको उहाँले गुनासो गर्नुभयो ।
१६ रोपनी जग्गामा धान लगाएका भोटेचौरकै अर्का किसान खिमबहादुर खडकाले चार/पाँच रोपनीमा रोगले क्षति भइसकेको छ र अन्यमा पनि फैलिरहेको बताउनुभयो । रोग लागेपछि सुकेको धानको बोट लगेर पालिकाको कृषि शाखामा गएको र त्यहाँबाट पाएको विषादी ल्याएर छरे पनि नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ । ‘१६ रोपनी जग्गा ५०/६० मुरी धान सजिलै उत्पादन हुन्थ्यो, त्यसले सात जनाको परिवारलाई वर्षभरी खान पुग्थ्यो, यस वर्ष अहिले रोगले आधा सखाप पारिसकेको छ’ उहाँले भन्नुभयो ।
शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सिमानामा पर्ने सांघारकी देवी विकले आफूले पाँच रोपनी खेतमा लगाएको सबै धानमा रोगको प्रकोप देखिएको र धान पहेँलिदै सुक्दै गएको बताउनुभयो । रोगको प्रकोप बढदै गएपछि छत्रेश्वरी गाउँपालिकाले दिएको विषादी छरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रोगले गर्दा सबै सुक्न थालेपछि पुनः धान लगाउनु पर्ने अवस्था आउने देखिएको छ ।
छत्रेश्वरी गाउँपालिकाका कृषि प्राविधिक गणेश भण्डारीले लान्ती, भोटचौर, सांघार र शारदा नगरपालिकाको सिमानामा फेद कुहिने रोगले एक सय हेक्टर भन्दा बढी खेतको धानमा क्षति पुगेको बताउनुभयो । ‘के कारण फेद कुहिने रोग लागेको भन्ने यकिन हुन सकेको छैन । प्रदेशको कृषि विभागमा जानकारी गराएका छौं’ उहाँले भन्नुभयो ‘ढुसीका कारण रोग लागेको हुनसक्ने विज्ञ टोलीले सल्लाह दिएपछि तीन सय किसानलाई ढुसीनासक विषादी उपलब्ध गराएर खेतमा छर्न लगाएका छौं ।’
रोग पहिचानको लागि जनशक्ति र उपचारका लागि औषधि तथा विषादी किन्ने अभाव रहेको उहाँको भनाइ छ । ‘जति थियो दियौं, अपुग भएकाले अहिले जिल्ला कृषि विकास कार्यालयलाई आग्रह गरेका छौं’ उहाँले भन्नुभयो । फेद कुहिने रोग तीव्र रुपमा फैलिरहेकाले समयमै रोग नियन्त्रण गर्न नसके धानबाली उत्पादनमा धेरै ह्रास आउन सक्ने उहाँको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले धानमा रोग लागेको भन्ने खबर आए पनि अहिलेसम्म कुनै किसान समस्या लिएर कार्यालयमा नआएको बताउनुभयो । भाइरसका कारण धानबालीमा फेद कुहिने रोग फैलिएको हुनसक्ने उहाँको भनाइ छ ।
